मंगलबार, कार्तिक २४ २०८३

मंगलबार, कार्तिक २४ २०८३

देशको समृद्धिका लागि शिक्षित युवा उद्यमशीलतामा जोडिन आवश्यक : महासचिव पोखरेल

मंगलबार, पुष १६ २०८१

दाङ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले जागिरको लागि नेपालको शिक्षा व्यवस्था ठिकै भए पनि सामाजिक जीवनको लागि शिक्षा व्यवस्था निक्कै कमजोर भएको बताएका छन् ।

सोमबार घोराही दाङको एक विद्यालयको वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै महासचिव पोखरेलले उत्पादनका लागि, व्यापार, व्यवसाय लगायतका क्षेत्रको लागि नेपालको शिक्षा व्यवस्था कमजोर भएको बताए ‘सामाजिक चुनौतीसँग सामर्थ्य जुटाउनको लागि हाम्रो शिक्षा व्यवस्था कमजोर छ’, उनले भने ।

नेपालको शिक्षा व्यवस्थाले नेपालमा रहेको श्रोत साधनलाई अधिक प्रयोग गरेर काम गर्न सक्ने बनाउन नसकेको उनले बताए । हाम्रो शिक्षा प्रणाली जागिर खोज्ने खालको मात्र भएको उनको भनाइ छ । पढेका युवाले जागिर मात्र खोज्ने तर उद्यमशीलतामा नजोडिनाले गर्दा देशको विकास हुन नसकेको पोखरेलले बताए । यस्तै अवस्था रहे देशको विकास र समृद्धिको यात्रा कमजोर हुने उनको धारणा छ ।

निर्वाहमुखी खेती प्रणाली बदल्न नसक्ने र पढेका युवा पुस्ता त्यस्तो खेतीमा जोडिन नमान्दा आजको युवा पुस्ता बेरोजगार भनेर विदेश पलायन हुने क्रम बढेको उनले बताए ।

अबको शिक्षाले युवालाई व्यवसायीक कृषिमा उन्मुख गराउनुपर्ने उनको राय छ । ‘अब हाम्रो शिक्षा व्यवस्था ज्ञानसँगै सिप सिक्ने खालको हुनुपर्दछ, त्यो क्षमता बालबालिकालाई सुरुदेखि नै सिकाउन सक्नु पर्दछ, होइन भने हाम्रो मुलुक श्रम बेच्ने मुलुक मात्र हुने छ’, उनले भने ।

समृद्धिको यात्रा नियमित शिक्षाबाट मात्र सम्भव नहुने उनले बताए । यसको लागि प्राविधिक धारको शिक्षा आवश्यक रहेको पोखरेलको भनाइ छ ।
नेपाल बनाउन सकिन्छ र बनाइन्छ भन्ने आत्मविश्वास विद्यार्थीलाई जगाउनु पर्ने उनले बताए । यस तर्फ अबको शिक्षा केन्द्रित हुनुपर्नेमा पोखरेलले जोड दिए ।