मंगलबार, कार्तिक २४ २०८३

मंगलबार, कार्तिक २४ २०८३

‘शेराबेंसी दरबार काण्ड डाइभर्ट गर्न गिरी बन्धुको पासा’

मलाई प्रधानमन्त्रीबाट अलोकतान्त्रिक, तानाशाही प्रवृत्तिले हटाइयो : प्रचण्ड

मंगलबार, पुष १६ २०८१

काठमाडाैं ।  शेरा दरबारको काण्ड डाइभर्ट गर्न (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ओलीतिर गिरी बन्धुको पासा फालेको भन्दै यसको छानविन गर्नुपर्ने आवाज उठ्न थालेको छ ।

नुवाकोटको शेराबेंसीमा दरबारसहित रहेको १६४ रोपनी जग्गा हडपेको सुइ माओवादी तिर सोझिएपछि प्रचण्डले गिरीबन्धु जग्गा प्रकरणको कुरा उठाएको आरोप छ ।

झापाको एक सभामा प्रचण्डले भ्रष्टाचारीमाथि कारबाही गर्न थालेपछि आफूलाई प्रधानमन्त्रीबाट हटाइएको आरोप लगाएका थिए।

सोमवार प्रधानमन्त्री केपी शर्मा ओलीको निर्वाचन क्षेत्र झापा ५ को गौरीगञ्ज गाउँपालिका वडा नं ३ मा नेकपा (माओवादी केन्द्र) को दोस्रो गाउँ सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले यस्तो आरोप लगाएका हुन् ।

ओलीमाथि आफूले गिरिबन्धु टि स्टेटको भ्रष्टाचार प्रकरणमा अनुसन्धान गर्न शुरु गरेसँगै र नक्कली भूटानी शरणार्थी प्रकरणमा बेचन झा पक्राउ परेसँगै सरकार ढालिएको उनको आरोप थियो ।

आफूलाई प्रधानमन्त्रीबाट अलोकतान्त्रिक, तानाशाही प्रवृत्तिले हटाइएको बताउँदै उनले गिरिबन्धु टिस्टेटमा प्रधानमन्त्री ओलीले बद्मासी गरेको आरोप लगाए । उक्त बद्मासीको पर्दाफास गरेरै छोड्ने उनले घोषणा गरेका थिए । उनको यो अभिव्यक्ति शेरा दरबार जग्गाकाण्डकै उपज हो भन्दै आलोचना भएको छ ।

नुवाकोटको विदुरमा शेरा दरबारले चर्चेको एक सय ८४ रोपनी जग्गा नेकपा माओवादी केन्द्रका अध्यक्ष दाहाल प्रधानमन्त्री भएकै बेलामा उनको स्वकीय सचिवालयमा रहेका विकेश श्रेष्ठका नाममा सेयर हस्तान्तरण भएको देखिएको छ। तत्कालीन भूमिसुधार सचिव मोहनकृष्ण सापकोटाको आदेशमा अन्नपूर्ण फार्मिङमा श्रेष्ठका नाममा सेयर हस्तान्तरणमा सहमति दिइएको खुलेको छ।

शेरा दरबार जग्गा कब्जाबारे अनुसन्धानका लागि चौतर्फी दबाव बढेको छ ।

सरकारले यसअघि त्यो जग्गा छानबिनको तयारी गरेको भए पनि दाहाल प्रधानमन्त्री भएको बेला रोकिएको थियो। त्यतिबेला सिआइबी प्रमुखमा किरण बज्राचार्य थिइन् भने नारायणकाजी श्रेष्ठ गृहमन्त्री थिए। गृहमन्त्रीले यो विषयमा अनुसन्धानलाई अघि बढाउन खोज्दा तात्कालीन प्रधानमन्त्री प्रचण्डले रोकेको भन्ने समाचार बाहिरिएका छन् ।

सो जग्गा प्लटिङ गर्ने र हडप्न खोज्ने व्यक्ति श्रेष्ठ प्रचण्ड प्रधानमन्त्री भएको बेला सचिवालयको सदस्य थिए। उनी नेकपा माओवादी शान्ति प्रक्रियामा आएपछि दाहालको प्रमुख स्वकीय सचिव थिए ।

यसैबीच गृहमन्त्री रमेश लेखकले शेरा दरबारले चर्चेको जग्गाबारे चाँडो अनुसन्धान सकाउन प्रहरीलाई निर्देशन दिएका छन्। भूमि व्यवस्थामन्त्री बलराम अधिकारीले जग्गा फिर्ता ल्याउने प्रक्रिया सुरु गरिसकेको र यसका लागि मालपोत कार्यालय र विभागलाई निर्देशन दिएको बताइएको छ।

सिआइबीले माओवादी केन्द्रका नेता विकेश श्रेष्ठ सञ्चालक रहेको अन्नपूर्ण फार्मिङ कम्पनीको नाममा रहेको उक्त जग्गा सरकारका नाममा ल्याउनुपर्ने निष्कर्षसहित प्रतिवेदन बुझाएको थियो।

पृथ्वीनारायण शाहका पालामा नुवाकोटको शेराबेंसीमा दरबार बनेको थियो । सो जग्गा १६४ रोपनी जग्गा व्यक्तिगत कम्पनीका नाममा दर्ता गरिएको भेटिएपछि कारबाहीका लागि सीआईबीले सरकार र अख्तियारलाई पत्राचार समेत गरेको छ ।

सो जग्गा राजपरिवारको सदस्यको नाउँमा थियो । हदबन्दीमाथिको जग्गा जोगाउन राजपरिवारका सदस्यहरूले कम्पनी खोलेका थिए । तर, सो कम्पनीको स्वामित्व नाटकीय रूपमा विकेश श्रेष्ठको परिवारमा आएपछि छानबिन अघि बढेको हो ।

नुवाकोटको विदुर नगरपालिका वडा नम्बर २ (साविक भैरवी गाविस ७) मा रहेको शेरा दरबार पृथ्वीनारायण शाहको पालामा बनेको हो । यहाँ दरबार र जग्गा गरी कुल १८४ रोपनी चार आना क्षेत्रफलको जग्गा छ । दरबारको जग्गा कुनै एक कम्पनीका नाममा नियन्त्रणमा रहेको विषय बाहिर आएको हो । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले नुवाकोटको विदुर नगरपालिका(२ स्थित शेरा दरबारले चर्चेको १८४ रोपनीमध्ये १६४ रोपनी जग्गा जफत गर्न सरकारसमक्ष गत शुक्रबार सिफारिश गरेको हो ।