'हात्तीहरू जुझ्दा पनि पिरती लाउँदा पनि हामी नै पेलिनु पर्ने ?'
काठमाडौं । नेकपा एमालेका पोलिटब्युरो सदस्य गोकुल बास्कोटाले लिपुलेक भारत र चीनले नेपाललाई वास्तै नगरी प्रयोग गर्ने सहमति गरेको खवर साँचो हो भने यो नेपाललाई हेप्ने र मिच्ने कुरा भएको बताएका छन् ।
उनले शक्ति र स्वार्थको सामु सम्बन्धको वर्लीन वाल सजिलै ढल्ने टिप्पणीसमेत गरेका छन्।
‘शक्ति र स्वार्थको सामु सम्बन्धको वर्लीन वाल सजिलै ढल्दो रहेछ। लिपुलेक भारत र चीनले नेपाललाई वास्तै नगरी प्रयोग गर्ने सहमति गरेको खबर साँचो हो भने यो नेपाललाई हेप्ने र मिच्ने कुरा भयो’, उनले भनेका छन्, ‘हात्तीहरू जुझ्दा पनि पिरती लाउँदा पनि हामी नै पेलिनु पर्ने ?
भारत सरकारका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल र चिनियाँ विदेशमन्त्री वाङ यीबिच डिसेम्बर १८ (पुस ३ गते) चीनको बेइजिङमा भएको छलफलमा भारतबाट कैलाश मनोसरोवार यात्रा फेरि सुरुवात गर्ने सहमति भएको भन्ने समाचार बाहिरिएको छ ।
दुई देशले पुनः सो यात्रा सुरु गर्ने सहमति गरेको चर्चा छ । लिपुलेकसँग सम्बन्धित विषयमा भारत र चीनबिच सहमति भएकाे हाे भने दुवै देशले नेपाललाई बेवास्ता गरेकाे देखिन्छ ।
यसै प्रसंगमा एमाले नेता बाँस्कोटाले सामाजिक सञ्जाल फेसबुकमा यस्तो टिप्पणी गरेका हुन् ।
लिपुलेक नेपाली भूभाग भएको र नेपालले आफ्नो नक्सामा समेत समावेश गरिसकेको छ ।
भारत र चीनले यसअघि पनि सो भूभाग हुँदै दुई देशको व्यापारिक सडक बनाउने सहमति गरेका थिए । त्यसमा नेपालले विरोध जनाएको थियो । २०७२ जेठमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी चीन भ्रमणमा गएको बेला चीनसँग लिपुलेकलाई व्यापारिक तथा दुई देशको तीर्थयात्री आवतजावत गर्ने केन्द्र बनाउने सहमति भएको थियो ।