काठमाडौं । भक्तपुरको बालकोटमा मृत फेला परेका कूलप्रसाद आचार्य र उनका कान्छा छोरा प्रविणको आफ्नै जेठा छोरा मिलनले नै हत्या गरेको खुलेको छ ।
भक्तपुरको सूर्यविनायक नगरपालिका-२, बालकोटमा बाबुछोरा मृत भेटिएको प्रकरणमा प्रहरीले संधिग्नकाे खाेजी जारी राखेकाे बेला जेठा छोरा मिलनले आत्मसमर्पण गरेका हुन् ।
महाराजगञ्जस्थित प्रहरी वृत्तमा आत्मसमर्पण गर्न पुगेका मिलन आचार्यले बाबु र भाइको आफूले हत्या गरेको स्वीकारेका छन्।
मंगलबार आत्मसमर्पण गर्दै उनले बाबु र भाइको हत्या गरेको स्वीकार गरेको प्रहरीको भनाइ छ। उनीसँग थप सोधपुछ गर्ने काम भइरहेको प्रहरीले जनाएको छ।
सोमबार बिहान भक्तपुरको सुर्यविनायक नगरपालिका-२ बालकोटमा बाबु छोराको हत्या गरिएको अवस्थामा शव फेला परेको थियो ।
खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेल निवासी ५६ वर्षीय हुलाल कार्यालयका निमित्त कार्यालय प्रमुख कूलप्रसाद आचार्य र उनका कान्छा छोरा २२ वर्षीय प्रवीण आचार्य भक्तपुरको सूर्यविनायक नगरपालिका–२ बालकोटस्थित भाडाको घरमा मृत फेला परेका थिए ।
हुलाकका निमित्त कार्यालय प्रमुख आचार्य खोटाङबाट पाँच दिनअघि मात्रै जेठा छोरा मिलन आचार्य र कान्छा छोरा प्रवीण बसिरहेको भक्तपुरस्थित बालकोटमा रहेको भाडाको घरमा पुगेका थिए ।
सोमबार बाहिरबाट चाबी लगाएको कोठाभित्र आचार्य बाबुछोरा हत्या गरेको अवस्थामा मृत फेला परेको थियाे ।
प्रहरीका अनुसार मृतक दुवै जनालाई घरेलु हतियार प्रयोग गरेर हत्या गरिएको खुलेको छ । मृतकको कान र टाउकोमा चोट देखिएको छ ।
प्रहरीले जेठा छोरा मिलनको घटनामा संलग्नता हुन सक्ने भन्दै खोजी थालेको थियो। यसैक्रममा मिलन मंगलबार प्रहरीकोमा पुगेर आत्मसमर्पण गरेका हुन्।