मंगलबार, कार्तिक २४ २०८३

मंगलबार, कार्तिक २४ २०८३

बाबुछोरा हत्याकाे अनुसन्धान तीव्र, पहिलो शंका मिलन आचार्यमाथि

मंगलबार, पुष ९ २०८१

 

भक्तपुर । सूर्यविनायक नगरपालिका–२ बालकोट फिकाधारास्थित एक घरमा सोमबार मृत अवस्थामा भेटिएका बाबुछोराको हत्या भएको आशङ्कामा अनुसन्धान तीव्र रूपमा अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेल घरभई जिल्ला हुलाक कार्यालय खोटाङका निमित्त कार्यालय प्रमुख ५६ वर्षीय कुलप्रसाद आचार्य र उनका कान्छा छोरा २२ वर्षीय प्रवीण आचार्य सोमबार भाडाको घरको कोठामा मृत भेटिएका थिए ।

जिल्ला प्रहरी परिसर भक्तपुरका प्रमुख एवं प्रहरी उपरीक्षक माधवप्रसाद बुढाथोकीका अनुसार दुई बाबुछोरा छुट्टाछुट्टै कोठामा मृत अवस्थामा भेटिए पनि सँगै बस्ने जेठा छोरा मिलन आचार्य भने सम्पर्कविहीन छन् ।

दुवै जना छुट्टाछुट्टै कोठाभित्र सुतिरहेकै अवस्थामा मृत फेला परेका थिए। बाबु कुलप्रसादको शव घोप्टो अवस्थामा थियो। प्रहरीले दुवै शव परीक्षण गरेर हेर्दा उनीहरूको अनुहार रगताम्मे थियो। टाउकोमा चोट थियो।

आचार्य दाजुभाइ चार वर्षदेखि यहाँ बस्दै आएका थिए।

अपराध अनुसन्धान महाशाखालगायतको अनुसन्धान टोली, केएमसी अस्पताल दुवाकोटका फरेन्सिक चिकित्सक टोली र तालिमप्राप्त कुकुरसहित घट्नास्थलमा अनुसन्धान गरेको थियो ।

छिमेकीले शनिबार साँझ तीनै जना बाबुछोरालाई सँगै खाना खाएको देखे पनि आइतबार दिनभरी र सोमबार पनि कोठा खुलेको नदेखेपछि प्रहरीलाई खबर गरेका थिए ।

जिल्ला हुलाक कार्यालय खोटाङका निमित्त कार्यालय प्रमुख आचार्य गत मङ्सिर २८ गते बिदा लिएर बालकोटस्थित छोराहरू बस्दै आएको कोठामा आएका थिए ।

दुईभाई छोरामध्ये जेठा छोरा मिलन स्नातक तह उत्तीर्ण गरेर लोकसेवाको तयारी गर्दै गरेका र कान्छो छोरा प्रवीण भने विज्ञान संकायमा स्नातक अध्ययनरत रहेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

सम्पर्कविहीन रहेका मिलन अझैसम्म सम्पर्कमा आएका छैनन् । यो घटनामा प्रहरीको पहिलो शंका मिलन आचार्यमाथि छ। उनी दुई दिनअघिसम्म यहीँ थिए। अहिले सम्पर्कविहीन छन्। यसले पनि उनीमाथि शंका गएको प्रहरीले जनाएको छ ।

प्रहरीले घटनास्थलबाट रगत लागेको सिलौटा पनि फेला पारेको छ। त्यही सिलौटाले प्रहार गरेको हुनुपर्ने प्रहरीको अनुमान छ।