काठमाडौं । कास्कीको पोखरास्थित सूर्यदर्शन सहकारी ठगी प्रकरणमा जोडिएका प्रतिवादीहरुको बयान सुरु भएको छ ।
जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले प्रतिवादीहरुविरुद्धको अभियोग पत्र जिल्ला अदालतमा दायर गरेसँगै सोमबारबाट बयानको प्रक्रिया सुरु भएको हो ।
सोमबार गोर्खा मिडिया नेटवर्ककका तत्कालीन प्रबन्ध निर्देशक छविलाल जोशीको बयान भएको छ । जोशीको बयान बाँकी नै रहेको र आजपनि उनीसँग बयान लिइने बताइएको छ ।
जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज राईको इजलासमा उनीहरुको बयान चलिरहेको छ । प्रतिवादी छविलाल जोशीले आफूले सहकारीको एक पैसा पनि नलिएको बयानका क्रममा बताएका छन् ।
बयानका लागि साेमबार छवि, रवि लामिछानेसहित ५ जनालाई अदालतमा उपस्थित गराइएको थियो ।
जोशीको बयान सकिएपछि अन्य चार जनाको बयान हुने छ । न्यायाधीश राईकै इजलासमा सहकारी ठगीका आरोपितहरुको थुनथेक बहस हुनेछ । बयान सकिनमात्रै ३/४ दिन लाग्न सक्ने बताइएको छ ।
सूर्यदर्शन सहकारी ठगी प्रकरणमा रवि, छविसहित ५१ जनालाई प्रतिवादी बनाइएको छ ।
लामिछानेमाथि सम्पत्ति शुद्धीकरणमा रु २७ करोड ८९ लाख ४४ हजार सात सय बिगो दाबीसहित मुद्दा दर्ता गरिएको हो ।
रु ७४ करोड ३४ लाख ७१ हजारभन्दा बढी बिगो दाबी गरी छविलाल जोशीविरुद्ध सम्पत्ति शुद्धीकरण कसुरमा मुद्दा दायर गरिएको हो ।
सहकारी ठगीतर्फ लामिछानेलाई रु तीन करोड ३७ लाख ६५ हजार र जोशीविरुद्ध रु पाँच करोड २६ लाख ६५ हजार र दीपेश पुनसँग रु दुई करोड १४ लाख आठ हजार आठ सय ४३ बिगो माग गरिएको छ ।
सहकारी ठगीका आरोपित अन्य व्यक्तिलाई पनि कसुरअनुसार बिगो र सजायको मागसहित मुद्दा दर्ता गरिएको छ । सहकारीको बचत रकम अपचलन गरेको आरोपमा सभापति लामिछाने गत कात्तिक २ गते काठमाडौँबाट पक्राउ परेका थिए ।
उनमाथि कास्कीसहित अन्य जिल्लामा पनि सहकारी ठगीको आरोपमा अनुसन्धान भइरहेको छ । लामिछानेमाथि पोखराको सूर्यदर्शन सहकारीको रकम तत्कालीन समयमा आफू सञ्चालक तथा प्रबन्ध निर्देशक हुँदा गोर्खा मिडिया नेटकर्वमा ल्याइ अपचलन गरेको आरोप छ ।
सहकारी ठगीको मुख्य नाइके मानिएका जिबी राई भने हालसम्म फरार छन् ।