बुधबार, कार्तिक २५ २०८३

बुधबार, कार्तिक २५ २०८३

रवि लामिछानेविरुद्ध आज अदालतमा मुद्दा अभियोजन हुँदै

शुक्रबार, पुष ५ २०८१

काठमाडौं। रास्वपा सभापति एवं पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने जोडिएको सूर्यदर्शन सहकारीको रकम अपचलनको मुद्दामा जिल्ला सरकारी वकिल कार्यालय कास्कीले आज अदालतमा अभियोजन गर्दै छ ।

मिसिल अध्ययन र अभियोगपत्र तयार पार्न भन्दै चार दिनको समय राखिएको थियो । उक्त समय आज सकिँदै छ ।

सरकारी वकिल कार्यालय कास्कीकी जिल्ला न्यायाधिवक्ता कमला काफ्लेले मिसिल आज अदालतमा अभियोग पत्र दर्ता गर्ने तयारी भइरहेको जानकारी दिनुभयो । सरकारी वकिल कार्यालयले रविविरुद्ध तीनवटा अभियोग दर्ता गर्दैछ ।

सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा दर्ता गर्नेगरी अभियोग पत्र तयार भइरहेको कार्यालयले जनाएको छ ।

झण्डै ६ सय पृष्ठ लामो प्रहरी मिसिलमा गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक रवि, उहाँका पार्टनर एवं गोरखा मिडियाका सञ्चालक पूर्व(डिआइजी छविलाल जोशी बञ्जाडे, लीला पछाई, रामबहादुर खनाल र कृष्णबहादुर गुरुङसहित ५१ जनालाई प्रतिवादी बनाइएको छ ।

प्रहरीले ५१ जना प्रतिवादीविरुद्ध एक अर्ब ५१ करोड रुपैयाँ माग दाबी लिएर मुद्दा दर्ता गर्न सरकारी वकिल कार्यालयमा राय पेस गरेको थियो ।

गत असोज ६ गते पूर्वडिआइजीसमेत रहेका छविलाललाई काठमाडौंबाट पक्राउ गरेर पोखरा लगिएको थियो भने कात्तिक २ गते रविलाई पक्राउ गरिएको थियो । यसबीचमा उनीहरुलाई रुपन्देहीको बुटवल, चितवन, काठमाडौं र वीरगञ्जमा लगेर पनि बयान गराइएको थियो ।