शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

एनपीएल क्वालिफायर

फाइनल प्रवेशका लागि आज जनकपुर र कर्णाली भिड्दै

बिहिबार, पुष ४ २०८१

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को क्वालिफायर टु मा आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच प्रतिस्पर्धा हुनेछ ।

खेल कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा मध्यान्न १२ बजे सुरु हुनेछ ।

दोस्रो क्वालिफायरको भेट एलिमिलेटरका विजेता कर्णाली याक्स र पहिलो क्वालिफायरमा हारेको टोली जनकपुरका लागि फाइनल पुगेर उपाधि होडमा रहने अन्तिम मौका हो।

पहिलो क्वालिफायरमा विजेता टोली सुदूरपश्चिम फाइनलका लागि प्रतिस्पर्धी कुरिरहेको छ। दोस्रो क्वालिफायर विजेता टोलीसँग सुदूरपश्चिमले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ।

दोस्रो क्वालिफायर खेल जनकपुरका लागि अवसर हो। पहिलो क्वालिफायरमा सुदूरपश्चिमसँग हारेको टोली जनकपुरले दोस्रो क्वालिफायरमा कर्णालीलाई हराउन सके उपाधिका लागि सुदूरपश्चिमसँगै खेल्न पाउनेछ। जनकपुरका लागि सुदूरपश्चिमसँगका दुई भेट सुखद् छैनन्।

पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्सविरुद्ध ८ विकेटको फराकिलो जित निकाल्यो। टस जितेर पहिले ब्याटिङ रोजेको जनकपुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १४० रनको लक्ष्य प्रस्तुत गरेको थियो।

जवाफी ब्याटिङमा उत्रिएको सुदूरपश्चिमले १८ दशमलव ३ ओभरमै २ विकेटको क्षतिमा जनकपुरले दिएको १४० रनको लक्ष्य पूरा गरेको हो। यसअघि लिग चरणको खेलमा मंसिर २६ गते जनकपुर र सुदूरपश्चिम आमनेसामने भएका थिए। उक्त खेलमा सुदूरपश्चिम ७२ रनले विजयी भएको थियो।

त्यो खेलमा सुरुमा ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै जनकपुरलाई १२३ रनको सामान्य लक्ष्य दिएको थियो। जवाफी ब्याटिङका उत्रिएको जनकपुरले १२ दशमलव १ ओभरमा सबै विकेट गुमाउँदै ५१ रन मात्रै बनाएको थियो।