काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएली)मा सुदूरपश्चिम रोयल्सविरुद्ध कर्णाली याक्स १०२ रनको लक्ष्य दिएको छ ।
कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको कर्णालीले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर १०१ रन मात्र बनायो ।
कर्णालीका लागि ओमानी खेलाडी जिसन मकसुदले ३० रन बनाए । अन्य खेलाडीले उल्लेख्य प्रदर्शन गर्न सकेनन् ।
बलिङमा सुदूरपश्चिमका लागि हर्मित सिंहले ४ ओभरमा १७ रन खर्चेर ३ विकेट लिए ।
कप्तान दीपेन्द्र सिंह ऐरीले उत्कृष्ट बलिङ गर्दै ४ ओभरमा २० रन खर्चेर २ विकेट लिए । स्कट कुगेलेइनले ४ ओभरमा २९ रन खर्चेर २ विकेट नै लिए ।
अहिले सुदूरपश्चिमले जवाफी ब्याटिङ गरिरहेको छ । सुदूरपश्चिम यसअघि नै प्लेअफमा स्थान बनाइसकेको छ । प्लेअफमा स्थान बनाउन कर्णालीलाई जित्नुपर्ने हुन्छ । झिनो हारले पनि कर्णाली प्लेअफमा पुग्नसक्ने छ ।