काठमाडौं । नेपाल प्रहरीले ८ जना प्रहरी नायव महानिरीक्षक (डीआईजी)को पदस्थापन र काज सरुवा गरेको छ । प्रहरीले बिहीबार सूचना प्रकाशन गर्दै जिम्मेवारी सहितको सरुवा गरेको जनाएको हो ।
बिहीबार मन्त्रिस्तरीय निर्णयबाट ८ डिआइजीको पदस्थापन भएको प्रहरी प्रधान कार्यालयले जारी गरेको सूचनामा उल्लेख छ । सो अनुसार डिआइजी ध्रुवराज राउतलाई काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी खटाइएको छ ।
त्यस्तै डिआइजी भोलाबहादुर रावललाई गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरा पदस्थापन गरिएको छ । बिहीबारकै निर्णयबाट त्यहाँका डिआइजी दुर्गा सिंहलाई प्रहरी प्रधान कार्यालय सरूवा गरिएको थियो ।
डिआइजी गणेश चन्दलाई सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, डिआइजी सिद्धीविक्रम राणालाई प्रहरी प्रधान कार्यालयको विशेष ब्युरो, डिआइजी सुशिलसिंह राठौरलाई प्रहरी प्रधान कार्यालयको आर्थिक प्रशासन तथा प्रबन्ध निर्देशनालयमा खटाइएको छ ।
त्यस्तै, डिआइजी उमाप्रसाद चतुरवेदीलाई प्रहरी प्रधान कार्यालय, डिआइजी हिमालय कुमार श्रेष्ठलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोग र डिआइजी डम्बरबहादुर प्रहरी प्रधान कार्यालयबाट साइबर ब्युरोमा काज खटाइएको छ ।