दाङ । नेकपा एमालेका महासचिव शंकर पोख्रेलले संविधान संशोधनको काम डेढ बर्षपछि हुने राष्ट्रिय सभा सदस्यको निर्वाचन पछि अघि बढ्ने बताएका छन्।
दाङको लमहीमा आइतबार नेकपा एमाले क्षेत्र नम्बर १ समन्वय कमिटीले आयोजना गरेको पार्टी कार्यकर्ता भेलालाई सम्बोधन गर्दै महासचिव पोख्रेलले भने, ‘हामी दुईटा राजनीतिक दल मिल्नुको कारण सरकार मात्रै होइन । राजनीतिक स्थायित्वको आधार तयार गर्न संविधान र कानुनमा सुधार गर्नेगरी दुई ठूला दलको विचमा समिकरण बनेको हो,’ उनले भने, ‘राष्ट्रिय सभामा हाम्रो पक्षको दुई तिहाइ छैन । दुई तिहाइ नपुग्दा सम्म संविधान संशोधनको एजेन्डा अघि बढ्न सक्दैन । संविधान संशोधनको बिषयमा माओवादीसंग कुरा मिल्ने स्थिति छैन । डेढ बर्ष पछाडि राष्ट्रिय सभाको निर्वाचनपछि त्यहाँको संरचना बदलिन्छ, त्यसपछि संविधान संशोधनको प्रक्रिया अघि बढ्छ ।’
महासचिव पोख्रेलले एमालेलाई आगामी ८४ को निर्वाचनमा बलियो राजनीतिक शक्ति निर्माण गर्ने दिशामा अहिले देखिनै सशक्त भएर खट्न कार्यकर्तालाई निर्देशन दिए ।
उनले अहिले ठूला दुई दलको विचमा भएको समिकरणले मिलेर चुनाव लड्ने नभइ एक्लाएक्लै प्रतिस्पर्धा हुने बारेमा स्पष्ट रहनुपर्ने बताए । हालसालै सम्पन्न उप-निर्वाचनमा रुकम पूर्वमा भएको जुन प्रकारको तालमेल सहि नभएको भनाइ महासचिव पोख्रेलको छ । ‘अहिले हामी कांग्रेससंग मिलेका छौं । तर, चुनावको बेलामा हामी एक्लाएक्लै लड्ने हो । अब पूर्वि रुकुममा साथीहरुले के गरे, एमालेको उम्मेदवार कांग्रेसको चुनाव चिन्हमा लड्ने कुरा गल्तीनै हो । त्यसो गर्नुहुदैन्थ्यो । ठाउँ बिशेषमा तालमेल गर्ने कुरा स्थानीय बिशेषताको आधारमा हुन पनि सक्ला । तर, आफ्नो, आफ्नो चुनाव चिन्हमा लड्नुपर्दछ ।’ उनले भने, ‘एमाले-कांग्रेस जस्ता पार्टी अर्काको चुनाव चिह्नमा आफ्ना उम्मेदवार खडागर्ने कुरा चाहिँ उचित कुरा होइन । त्यो गलत कुरानै हो । वास्तवमा त्यहाँका साथिहरुले गल्ती गरेका हुन । त्यो गल्तीलाई पार्टीले आलोचना गरेको छ । भविस्यमा यसप्रकारको काम हुने छैन ।’
उप-निर्वाचनको नतिजाले एमालेलाई कमजोर नभइ थप सुदृढ बनाएको दावी उनको छ । यस्तै उनले पार्टी नेतृत्वका बिरुद्धमा भइरहेका कुप्रचारका बिरुद्ध दृढतापूर्वक उभिन आह्वान गरेका छन्। ‘भ्रमपूर्ण सूचनालाई हो कि हो कि भन्नेर बस्ने कि सत्य तथ्य पत्ता लगाउन अघि बढ्ने ?’ उनले भने ‘जे जति कुराहरु प्रचार गरिएका छन् ती सबै भ्रमपूर्ण हुन् । कागले कान लग्यो भनेर कागपछि दौडने कि पहिला कान छोप्ने । पहिला त कान छोप्नुपर्ला नि ।’
गिरिबन्धु टि स्ट्रेट, कम्बोडियामा लगानीका बिषयहरुमा भ्रमछर्नेहरु अहिले समस्यामा परेको भन्दै उनले भ्रमको खेति गर्नेहरुलाई कानुनले दण्डित गर्ने समेत बताए । एमालेलाई कमजोर बनाउँदा आफुहरु स्थापित हुन सकिन्छ भन्नेगरी स्वतन्त्र भन्नेहरुले भ्रमको खेती सुरु गरेको टिप्पणी उनको छ। ‘षड्यन्त्रबाट आत्तिने होइन, सामना गर्ने हो । यो पार्टी कमजोर हुने वाला छैन । विकास र समृद्धिको नेतृत्व गर्ने यहि पार्टी हो’ उनले भने-पार्टीबाट अलग भएका नेताहरुलाइ के लाग्दोहो हामी जहाँ जान्छौं, त्यहाँ ठूलो पार्टी बनाउन सक्छौं । तर, के भयो ?