बारा । बाराको कलैयास्थित रामराजा मोहनविक्रम शाह बहुमुखी क्याम्पसका प्रमुख हरिभूषण कुशवाहाको हत्यामा संलग्न मुख्य अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख एसपी महेन्द्र खड्काका अनुसार पक्राउ पर्नेमा आदर्शकोतवाल गाउँपालिका–२ खजुरिया बस्ने सुरेन्द्रप्रसाद कुशवाहा रहेका छन् । उनलाई विराटनगरबाट पक्राउ गरिएको हो ।
बाराको आदर्शकोतवाल गाउँपालिका २ का ४१ वर्षीय कुशवाहालाई पक्राउ गरेर बारा प्रहरीले आज बिहान सार्वजनिक गरेको छ । उनी नेपाली सेनाका भगौडा तथा गाउँघरमा सबैलाई त्रसित बनाउने पृष्ठभूमिका व्यक्ति भएको खुलेको छ ।
क्याम्पस प्रमुख कुशवाहाको गत जेठ ३२ गते आदर्शकोतवाल गाउँपालिका २ खजुरीया भन्ने ठाउँबाट कलैयातर्फ आउँदै गर्दा गोली प्रहार गरी हत्या भएको थियो । प्रहरीका अनुसार मृत्यु अघि क्याम्पस प्रमुख कुशवाहाले सुरेन्द्रले आफूमाथि गोली प्रहार गरेको बताएका थिए ।
प्रहरीको अनुसन्धानमा हत्याका मुख्य आरोपी सुरेन्द्रसहित १७ जनाको संलग्नता रहेको खुलेको थियो ।
उक्त घटनामा प्रयोग भएको पेस्तोल २ थान, गोली ७ राउण्ड, मोटरसाइकल चार थान, मोबाइल चार थान, ल्यापटप २ थान र सिमकार्ड ७ थान बरामद भएको प्रहरीले जनाएको छ ।
हत्याका मुख्य आरोपी सुरेन्द्रमाथि ज्यान सम्बन्धी र हातहतियार खरखजना सम्बन्धी कसुरमा मुद्दा दर्ता भई प्रारम्भिक सुनुवाइ समेत भइसकेको छ ।