बिहिबार, कार्तिक २६ २०८३

बिहिबार, कार्तिक २६ २०८३

 चिनियाँ उच्चस्तरीय टोली काठमाडौंमा

बिहिबार, मंसिर १३ २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको तयारी भइरहेका बेला चीनको एक उच्चस्तरीय टोली भने काठमाडौं आइपुगेको छ ।

चीनको स्वशासित क्षेत्र सिजाङ प्रान्तस्थित विदेश मामिला कार्यालयका उपमहानिर्देशक लिउ लिनको नेतृत्वमा ६ सदस्यीय टोली मंगलबार काठमाडौं आइपुगेको हो । चाइना एयरबाट आएको उक्त टोलीलाई नेपालस्थित चिनियाँ दूतावासका अधिकारीहरूले स्वागत गरेका थिए ।

शनिबारसम्म काठमाडौंमा रहने उक्त टोलीले केही सरकारी अधिकारी र राजनीति दलका शीर्ष नेताहरूसँग छलफल गर्नेछ । उनीहरूले बुधबारदेखि दलका नेताहरूसँगको छलफल सुरु गरिसकेका छन् ।

स्रोतका अनुसार बिआरआई परियोजना कार्यान्वयनका विषयलाई लिएर सत्तारूढ दलहरूबीच नै विवाद भइरहेका बेला चीनबाट गुपचुप रूपमा आएको उच्च स्तरीय टोलीको भ्रमणलाई निकै महत्वका साथ हेरिएको छ ।

बिआरआई ऋण कि अनुदानमा लिने विषयमा विवाद भइरहेको छ । प्रधानमन्त्री ओलीले सहुलियतपूर्ण ऋणमै भए पनि बिआरआई कार्यान्वयन गर्न मनस्थिति बनाए पनि नेपाली कांग्रेसको विरोधकै कारण प्रधानमन्त्रीसमेत त्यसबाट पछि हटेका छन् र प्रधानमन्त्री ओलीले ऋणमा बिआरआई स्वीकार गर्न नसकिने भन्दै सार्वजनिक अभिव्यक्ति दिइसकेका छन् ।

कांग्रेस सभापति शेरबहादुर देउवाले पनि प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा बिआरआईका परियोजनाहरू अनुदानमा लिने गरी गृहकार्य थाल्न सरकारलाई सुझाव दिएका छन् ।