बिहिबार, कार्तिक २६ २०८३

बिहिबार, कार्तिक २६ २०८३

बीआरआईमा दलहरू विभाजित

मंगलबार, मंसिर ११ २०८१

काठमाडौ‌ । प्रधानमन्त्री केपी शर्मा ओलीको हुन लागेको चीन भ्रमणका क्रममा ‘बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) परियोजनाको कार्यान्वयन योजनासम्बन्धी सम्झौतामा हस्ताक्षर गर्ने कि नगर्ने विषयमा दलहरू विभाजित भएका छन् ।

सत्ता गठबन्धन दल काँग्रेस र एमालेबीचमै पनि बीआरआई परियोजनालाई अघि बढाउनेबारेमा सहमति हुन सकेको छैन । प्रधानमन्त्री ओलीले चीन भ्रमण अघि पूर्वप्रधानमन्त्री र परराष्ट्रमन्त्रीहरुसँग छलफल अघि बढाए पनि दलहरूको फरक फरक धारणा आएको छ । छलफलमा काँग्रेसले बीआरआई कार्यान्वयनमा सम्झौता गर्न नहुने धारणा राखेको छ । त्यस्तै माओवादी केन्द्र र एकीकृत समाजवादीले भने बीआरआई परियोजनामा सम्झौता गर्नुपर्ने सुझाव दिएको छ ।

सत्तारुढ दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री ओलीको चीन भ्रमणको क्रममा चीनसँग सरकारले ऋण लिन नहुने बताए । उनले नेपाल ऋण लिने सामर्थ्य नभएको बताए । उनले ऋण नलिने तर अरू अनुदान लिन तयार भएको बताएका छन् ।

यता, प्रधानमन्त्री ओलीले भने चीन भ्रमणको क्रममा ऋणसम्बन्धी कुनै पनि सम्झौता नहुने स्पष्ट पारेका छन् । चीन भ्रमणका एजेन्डाबारे पूर्व प्रधानमन्त्री र पूर्वपराष्ट्रमन्त्रीहरुसँगको छलफलमा ओलीले ऋणसँग सम्बन्धित कुनै पनि सम्झौता नगर्ने बताएका हुन् ।

प्रधानमन्त्री ओलीले यो भ्रमण विशेष गरी विगतमा भएका सहमति र सम्झौताको प्रभावकारी कार्यान्वयनका साथै प्रसारण लाइन विस्तार, नेपालको उत्पादन चीनमा निर्यात र अन्य सहयोगका विषयमा छलफल हुने गरी तयारी गरेको जानकारी दिए ।

छलफलमा सहभागी पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले प्रधानमन्त्री ओलीलाई बीआरआई परियोजना स्वीकार गर्न सुझाव दिएका छन् । बीआरआई नेपालको हितमा रहेको र यसबाट लाभ लिनुपर्ने नेपालको सुझाव छ ।

यसैगरी, पूर्वप्रधानमन्त्री झलनाथ खनालले बीआरआई परियोजनामा नेपाल अघि बढ्नुपर्ने भन्दै चीनसँग ऋण लिनुहुँदैन भन्ने ढङ्गबाट अघि बढ्न नहुने धारणा राखे ।

ओलीले मंसिर १७ देखि चीनको औपचारिक भ्रमण गर्दैछन् ।