विराटनगर । नेकपा एमालेले कोशी प्रदेशका निवर्तमान आन्तरिक मामिला तथा कानून मन्त्री लिलाबल्लभ अधिकारीलाई निलम्बन गरेको छ ।
पार्टीको अनुमतिबिना जापान गएका मन्त्री अधिकारीमाथि थप अनुसन्धान गर्न नेकपा एमाले कोशी प्रदेशले गम्भीर चासो राख्दै उनलाई निलम्बन गरेको हो ।
प्रदेश अध्यक्ष घनश्याम खतिवडाले शनिबार एक विज्ञप्ति जारी गर्दै अधिकारी माथि लागेको आरोपको अन्तिम निरुपण नभएसम्मका लागि उनलाई पार्टीको कुनै पनि तहमा रहन नपाउने गरी राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद सदस्य तथा एमालेको सांगठनिक सदस्यबाट निलम्बन गरिएको जानकारी दिएका छन् ।
बुधबार मन्त्री अधिकारीले प्रदेश सरकार र पार्टीको बढ्दो आलोचना र दबाबबीच पदबाट राजीनामा दिएका थिए ।
अधिकारी प्रदेश मन्त्रिपरिषद् र संघीय सरकारसँग अनुमति नलिई जापान भ्रमणमा गएपछि उनीमाथि मानव तस्करीको आरोपमा प्रहरीले छानविन गर्ने तयारी गरिरहेका बेला पार्टीले निलम्बन गरेको छ ।