काठमाडौं । नेपालले आइतबार परम्परागत प्रतिद्वन्द्वी भारतलाई टाइब्रेकरमा ४–२ ले हराएर साफ महिला फुटबल च्याम्पियनसिप २०२४ को फाइनलमा स्थान बनाएको छ ।
निर्धारित समयको खेल १–१ ले बराबरीमा सकिएपछि जितहारको निर्णय सिधै पेनाल्टी सुटआउट मार्फत गरिएको थियो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा एक घण्टा भन्दा बढी समय अबरुद्ध भएको खेल अन्ततः जित्दै नेपाली खेलाडी रंगशाला उपस्थित हजारौं दर्शक र नेपाली खेलप्रेमीको मन जिते ।
त्यसअघि निर्धारित समयमा रेखा पौडेलले रातो कार्ड पाएपछि नेपाल एक खेलाडी कममा खेलेको थियो । त्यसको फाइदा उठाउदै संगिता बासफोरेले भारतलाई अग्रता दिलाएकी थिइन् । त्यसपछि खेल रोकियो र तनावग्रस्त बन्यो अनी खेल फेरि सुरु भएपछि उनै साम्बाले नेपालका लागि बराबरी गोल गर्दै खेलमा फर्काएकी थिइन् ।
निर्धारित समय १-१ को बराबरीमा सकिएपछि खेलको निर्णय सिधै पेनाल्टीसुटआउटबाट भएको थियो ।
नेपालका चारै खेलाडी सावित्रा भण्डारी, गीता राना, सविता रानामगर र अमिसा कार्कीले गोल गर्दा भारतका दुई खेलाडीले मात्र गोल गर्न सके । कप्तान आशालता देविकको पहिलो पेनाल्टी प्रहार गोलपोस्टमा लागेर फर्कियो भने छानु सोरोखाइबमको प्रहारलाई स्थानापन्न गोलरक्षक अन्जना रानामगरले रोकेकी थिइन् ।
उत्तरार्धको सातौँ मिनेटमै रेखा पौडेलले दोहोरो पहेँलो कार्डसहित मैदान छोडेपछि नेपाल १० खेलाडीमा सीमित भएको थियो । यद्यपि नेपालले एक मिनेटपछि नै प्रीति राईको गोलबाट खेल बराबरीमा ल्याउने मौका पाएपनि सो गोललाई रेफ्रीले मान्यता नदिएपछि खेल अवरुद्ध भएको थियो ।
रेफ्री चोकी ओमले सुरुमा गोल भएको इसारा गरे पनि फोर्थ अफिसियल र सहायक रेफ्रीको निर्देशनमा गोल अवैध भएको निर्णय गरेपछि विवाद उत्पन्न भएको थियो ।
नेपालले गोल गर्दा भारतीय अफिसियल मैदानभित्रै रहेको कारण देखाउँदै गोल रद्द गरिएको थियो ।
दोस्रो पटक रोकिएर पुनः सुचारु भएको खेल एक मिनेट नबित्दै सावित्राले प्रीतिको पासमा अनपेक्षित रूपमा बराबरी गोल फर्काइन् । निर्धारित समयमा थप कुनै गोल नभएपछि खेल पेनाल्टी सुट आउटमा पुगेको थियो ।
यो खेलसँगै नेपालले साफमा भारतलाई लगातार दोस्रो पटक हराएको छ भने समग्रमा छैटौं पटक साफको फाइनलमा पुगेको हो ।
नेपालले अब उपाधिका लागि बुधबार बंगलादेशसँग खेल्नेछ ।