काठमाडौं । लिग २ खेल्न क्यानडा जाने नेपाली क्रिकेट टोलीको बिदाइ गरिएको छ ।
नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली टोलीका सदस्य र व्यवस्थापकलाई एक कार्यक्रमका बीच बिदाइ गरेको हो । नेपाली टोली आजै राति क्यानडा प्रस्थान गर्नेछ ।
क्यानडा भ्रमणका क्रममा नेपालले सेप्टेम्बर १६ र २२ मा क्यानडासँग खेल्नेछ । यस्तै सेप्टेम्बर १८ र २४ मा नेपालले ओमानसँग खेल्नेछ ।
त्रिकोणात्मक टी-२० आई सिरिजमा नेपालले २८ सेप्टेम्बर र १ अक्टोबरमा क्यानडासँग खेल्नेछ । २९ सेप्टेम्बर र २ अक्टोबरमा ओमानसँग खेल्नेछ ।
लिग २ पछि नेपाल, ओमान र क्यानडाबीच त्रिकोणात्मक टी-२० आई सिरिज पनि हुनेछ ।

नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक मन्टी देसाईले क्यानडामा हुन लागेको विश्वकप लिग-२ शृङ्खलाअघि आफू उत्साही रहेको बताएका छन्।
टी-२० विश्वकपमा नेपालको प्रदर्शनका कारण यतिबेला टिम सकारात्मक रहेको बताए।
‘सधैँ लाइन क्रस गरिरहन पर्दैन, गुड मेमोरिजले पनि ठुलो अर्थ राख्छ’, टीम बिदाइ कार्यक्रममा मङ्गलवार प्रशिक्षक देसाईले भने। बैंगलोरको दुई साताको क्याम्पले टिमलाई सहयोग पुगेको बताए।