काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाका महासचिव किरण राईको मासिक तलव २ हजार अमेरिकी डलर अर्थात करिब २ लाख ७० हजार रूपैयाँ हुने कार्यसमिति बैठकले निर्णय गरेको छ ।
एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङले एजेण्डा नम्बर ८ मा कर्मचारीको सेवा सुविधाबारे छलफलमा महसचिवको तलव २ हजार अमेरिकी डलर पु-याउने प्रस्ताव राखेका थिए ।
उनको यो प्रस्ताव बहुमतले पारितसमेत गरेकाे छ ।
हाल महासचिव राईले १ लाख २० हजार मासिक पाउँदै आएका थिए । बैठकले राष्ट्रिय खेलाडीको तलव १८ हजार रुपैयाँबाट मासिक ३० हजार रुपैयाँमा वृद्धि गरेको छ । यो निर्णय पनि सर्वसम्मतले पारित भएको छ ।
यस्तै बैठकले नेपाली राष्ट्रिय फुटबल टिमका प्रशिक्षक भिन्सेन्जो अल्बर्टो अनेसको सम्झौता थप नगर्ने निर्णयसमेत गरेको छ ।
उनको नेतृत्वमा नेपालले १९ खेल खेलेको थियो । जसमा पाँच खेल मात्रमा जित हासिल गरेको थियो । चार खेलमा बराबरी र १० खेलमा हारको नतिजा आएको थियो ।
एन्फाले अब खुला प्रतिष्पर्धाबाट नयाँ प्रशिक्षक नियुक्त गर्ने निर्णय गरेको छ । बैठक मङ्गलवार बिहान करिव ११ बजे शुरु भएको थियो । राति सम्मचलेको बैठक बिहीवार बिहानसम्मलाई स्थगित गरिएकाे छ ।
बुधवार साफ अण्डर च्याम्पियनसिपको फाइनल हुने भएका कारण बैठक बिहीवार बस्ने बताइएको छ ।