शुक्रबार, साउन १५ २०८३

शुक्रबार, साउन १५ २०८३

संविधान जारी हुँदा जस्तै एक भएर अगाडि बढौँ : अध्यक्ष प्रचण्ड

बुधबार, साउन ३० २०८१

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले परिवर्तन ल्याउने सबै राजनीतिक दलहरु समझदारीका साथ अघि बढ्नुपर्ने बताएका छन् ।

बुधवार प्रतिनिधि सभा बैठकमा संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकबारे सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले संविधान जारी हुँदासम्म राजनीतिक मुद्दामा राष्ट्रिय सहमति र एकताको प्रदर्शन गरेझैँ अहिले पनि एक भएर अघि बढ्नुपर्ने बताए। उनले संविधानको कार्यान्वयनमा एक हुन नसकेको बताए। उनले संविधानले माग गरेको राजनीतिक संस्कार, राजनीतिक प्रणाली संस्थागत गर्ने चुनौती, जनताका असीमित आकंक्षा पूरा गर्नुपर्ने दायित्व अझै पूरा हुन नसकेको बताए ।

अध्यक्ष दाहालले शान्ति प्रक्रियालाई टुङ्गोमा पुर्‍याउने बेला व्यवस्थामा नै सङ्कट पर्नसक्ने चिन्ता व्यक्त गरे। अहिले समाजमा अराजकता फैलाउने, सामाजिक, नैतिक मूल्य, मान्यताका सीमा भत्काएर सभ्यताका, संस्कारका सीमा भत्काउने प्रवृत्तिले टाउको उठाउन खोजेको बताए। एक अर्काप्रति निषेधको नभइ हातेमालो गरेर अघि बढ्न जरुरी रहेको बताए।

उनले भने, ‘‘हामीले संविधान जारी हुँदासम्म जसरी राजनीतिक मुद्दामा राष्ट्रिय सहमति र एकताको प्रदर्शन गर्‍यौँ, यसको कार्यान्वयनमा भने हामी एक हुन सकेनौँ। संविधानले माग गरेको राजनीतिक संस्कार, राजनीतिक प्रणाली संस्थागत गर्ने चुनौती, जनताका असीमित आकांक्षा पूरा गर्नुपर्ने दायित्व अझै पूरा भएका छैनन्। संविधान जारी भएपछि भने उच्चस्तरका राष्ट्रिय सहमति आवश्यक थियो। तर त्यो जनताले अपेक्षा गरे अनुसार पूरा गर्न सकिएको छैन।’’

अध्यक्ष प्रचण्डले संविधानको रक्षा जनताका उपलब्धिको रक्षा, लोकतन्त्रको सुदृढीकरणको लागि र जनतालाई थप अधिकार सम्पन्न बनाउन सबैसँग मिलेर जान तयार रहेको बताए ।

चुनौती सामना गर्न एकता बाहेक अर्को हतियार नरहेको उनको भनाइ छ। अध्यक्ष प्रचण्डले अहिले पनि सहिद परिवारले न्याय पाइसकेको स्थिति नरहेको भन्दै बेपत्ता नागरिकका परिवार शान्तिले सुत्न नपाएको बताउनुभयो। उहाँले शान्तिकोष स्थापना गर्ने कुरा बजेटमार्फत सुनिश्चित गरे पनि कार्यान्वयन अझै सुरु नभएको बताए।