शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

काभा महिला भलिबल

उपाधिका लागि आज नेपालले भारतसँग खेल्दै

फाइनल खेल हेर्न प्रधानमन्त्रीसमेत उपस्थित हुने

बुधबार, साउन २३ २०८१

काठमाडौं । नेपालले आज काभा महिला भलिबल नेसन्स लिगको फाइनलमा भारतको सामना गर्दैछ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा हुने फाइनल खेल साँझ ५ बजेदेखि शुरु हुने छ ।

मंगलबार सम्पन्न सेमिफाइनल खेलमा नेपालले इरानलाई सोझो सेटमा ३–० ले पराजित गरेको थियो ।

त्यस्तै पहिलो सेमिफाइनलमा भारतले श्रीलंकालाई ३–० ले पराजित गरेको थियो ।

लिग चरणमा नेपालले भारतलाई पराजित गरिसकेको हुनाले आज फाइनलमा नेपाल उच्च मनोबलका साथ खेल्दै छ ।

फाइनल खेलमा खेलाडीको मनोबल बढाउन प्रधानमन्त्री केपी शर्मा ओलीसमेत उपस्थिति हुने भएका छन् ।

त्यस्तै आजै तेस्रो स्थानको खेल इरान र श्रीलंकाबीच दिउसो २ बजेदेखि हुने छ ।

दोस्रो सेमिफाइनलमा हिजाे  इरानलाई ३-० को सोझो सेटमा पराजित गर्दै नेपालले फाइनलमा भारतसँगको भेट पक्का गरेको हो ।

समूह चरणको हारको बदला लिँदै नेपालले इरानविरुद्ध शानदार जित दर्ता गर्‍यो ।

निकै प्रतिस्पर्धात्मक खेलको पहिलो सेट नेपालले इरानलाई २५-२१ ले पराजित गर्‍यो । इरानसँग १-५ ले पछि परेको अवस्थाबाट लगातार पाँच अङ्क जोडदै नेपालले अग्रता लिएको थियो । खेलको दोस्रो सेट भने निकै प्रतिस्पर्धात्मक रह्यो । एक समय १५-९ को अग्रता बनाएको नेपाल अन्त्यतिर २१-२४ ले पछि परेको थियो । त्यसपछि नेपालले लगातार तीन अङ्क जोड्दै खेललाई बराबरीमा ल्यायो र अन्ततः नेपालले इरानमाथि २८-२६ को जित निकाल्यो ।

खेलको तेस्रो सेट भने नेपालले २५-२० ले आफ्नो पक्षमा पार्न सफल भएको थियो ।

नेपाली भलिबल टोलीकी कप्तान अरुणा शाहीले फाइनलमा भारतसँग आफ्नो टोलीले झनै राम्रो खेल्ने विश्वास व्यक्त गरेकी छन् ।

इरानमाथि सोझो सेटमा जित निकालेपछि पत्रकार सम्मेलनमा कप्तान अरुणाले छिमेकी राष्ट्र भारतसँगै जस्तोसुकै अवस्थामा पनि नेपालले राम्रो खेल्दै आएको स्मरण गर्दै सोही मानसिकता र प्रदर्शन दोहोरिने विश्वास व्यक्त गरेकी हुन् ।

शाहीले इरान जस्तै भारतलाई पनि फाइनलमा सोझो सेटमा हराउँदै उपाधि जित्ने लक्ष्य रहेको बताएकी छन् ।