वाशिङटन । अमेरिकाका एक जिल्ला न्यायाधीशले गुगलले अनलाइन ‘सर्च’ र सम्बन्धित विज्ञापनमा आफ्ना प्रतिस्पर्धीलाई दबाएर एकाधिकार कायम गर्न गैरकानुनी काम गरेको फैसला गरेका छन् ।
सोमबार लिइएको ऐतिहासिक निर्णय अनुसार गुगलको मूल कम्पनी अल्फाबेटका लागि याे ठूलो धक्का हो र यसले टेक्नोलोजीको व्यापार गर्ने तरिकालाई परिवर्तन गर्नसक्छ।
गुगलमाथि अमेरिकाको कानुन मन्त्रालयले यसबारेमा सन् २०२०मा मुद्दा दायर गरेको थियो । जसमा गुगलले करिब ९० प्रतिशत अनलाइन सर्च मार्केटमा एकाधिकार लिइरहेको दाबी गरिएको थियो ।
गुगलले एकाधिकार लिइरहेको सो क्षेत्रमा अरु प्रतिस्पर्धीलाई बलियो बनाउन लागि परेका थुप्रै मुद्दामध्ये सोमबार फैसला भएको मुद्दा एउटा भएको जनाइएको छ । यो फैसलापछि गुगल र अल्फाबेटले के सजाय पाउँछन् भन्ने बारेमा प्रष्ट भइसकेको छैन ।
जरिबाना वा अन्य उपायहरूको बारेमा भविश्यमा हुने सुनुवाइमा निर्णय आउन सक्नेछ ।
सरकारले सैद्धान्तिक रूपमा यस विषयमा ‘संरचनागत राहत’को कुरा गरेको छ । यसको अर्थ कम्पनीको ‘ब्रेक अप’ हुनसक्छ ।
अमेरिकाका जिल्ला न्यायाधिश अमित मेहताले आफ्नो २७७ पेज लामो धारणामा भनेका छन्, “गुगल एकाधिकारवादी हो । उसले आफ्नो एकाधिकार कायम गर्ने काम गरेको छ ।”
अल्फाबेटले भने फैसलाविरुद्ध पुनरावेदन गर्ने जनाएको छ ।
-बीबीसीबाट