काठमाडौं । भारतको केरलामा बाढी र पहिरोका कारण कम्तिमा १ सय २३ जनाको मृत्यु भएको छ ।
अन्य दर्जनौ मानिस घाइते भएका छन् । भारी वर्षाका कारण पहिरो जाँदा फसेका अन्य ७ सय जनाको भने उद्धार गरिएको छ । सयौं मानिस पहिरोमा पुरिएको आशंका गरिएको छ ।
भारतीय समाचार माध्यमहरुका अनुसार केरलाका मुख्यमन्त्री पिनाराई विजयनले दुर्घटनामा बेपत्ता हुनेको संख्या पनि ९० पुगेको छ। पहिरोमा ठूलो संख्यामा मानिसहरु फसेको आशंका छ । मृत्यु हुनेको संख्या बढ्न सक्ने बताइएको छ ।
अहिले उद्धार कार्यमा एनडीआरएफ, कन्नूर डिफेन्स सेक्युरिटी कोर र वायुसेनाका हेलिकप्टर संलग्न रहेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । तर वर्षाका कारण उद्धार कार्यमा कठिनाइ भइरहेको बताइएको छ ।
मुख्यमन्त्री विजयनको कार्यालयले सेनालाई पहिरो स्थानमा पुग्न अस्थायी पुल निर्माण गर्न मद्दत गर्न आग्रह गरेको जनाएको छ । केही दिनयता केरलाका धेरै ठाउँमा भारी वर्षा भइरहेको छ । यी स्थानहरूमा मुन्डक्काई, अट्टामाला र कुनहोम जस्ता क्षेत्रहरू पनि समावेश छन्।
यी क्षेत्रमा २४ घण्टामा २०४ मिलिमिटर वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । केरलाका केही अन्य क्षेत्रमा वर्षाको सन्दर्भमा सुन्तला र पहेंलो अलर्ट जारी गरिएको छ।