रोहित भने ब्याटिङमै परेनन्
काठमाडौं । ग्लोबल टी–२० क्यानडा लिगमा नेपालका लेग स्पिनर सन्दीप लामिछाने र अलराउन्डर दीपेन्द्र सिंह ऐरी सहभागी भ्यानकुभर नाइट्सले ग्लोबल टी–२० क्यानडा लिगमा लगातार दोस्रो हार ब्यहोरेको छ ।
शनिबार साँझ भएको खेलमा बंगला टाइगर्स मिसिसाउगाविरुद्ध पहिले बलिङ गरेको भ्यानकुभर २२ रनले पराजित भएको हो।
उक्त खेलमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर लामिछानेले दुई विकेट लिए । पुरै चार ओभर बलिङ गर्दा उनले ३२ रन खर्चिएर दुई विकेट हात पारेका थिए ।
ब्याटिङतर्फ दीपेन्द्र भने चल्न सकेनन्। २ बलको सामना गरेका उनले १ रन मात्र बनाए।
ब्याटिङतर्फ नटआउट सन्दीपले तीन बलको सामना गर्दै २ रन जोड्न सके ।
भ्यानकुभरले टस जितेर पहिले बलिङ रोजेपछि सुरुमा ब्याटिङ गरेको बंगला टाइगर्सले ७ विकेटको क्षतिमा १५३ रनको चुनौती दिएको थियो। उसका लागि इफ्तिखार अहमदले अर्धशतक बनाए । ४० बल खेलेका उनले नटआउट ५० रन बनाउन ६ चौका र एक छक्का प्रहार गरे ।
अर्को खेलमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेल सहभागी टिम टोरोन्टो नेसनल्सले लगातार दोस्रो जित निकालेको छ।
गएराति भएको खेलमा टोरोन्टोले ब्रैम्प्टन वुल्सलाई ८ विकेटले पराजित गरेको हो।
टस जितेर पहिला ब्याटिङ गरेको वुल्सले १९.१ ओभर खेल्दा सबै विकेट गुमाएर ११० रन बनाएको थियो। वुल्सलाई सस्तैमा समेट्न टोरोन्टोका लागि जुनैद सिद्दिकीले तीन विकेट हात पार्दा रोमारियो शेफर्ड र जेसन बेहरेन्डोर्फले समान दुई/दुई विकेट लिए ।
टोरोन्टोले १११ रनको लक्ष्य १३.२ ओभरमा भेट्टाएको हो। उसका लागि उन्मुक्त चन्दले अर्धशतक प्रहार गरे । ४० बलको सामना गरेका उनले आठ चौका र एक छक्काको मद्दतमा नटआउट ५३ रन जोडे।
प्लेइङ–११ मा रहेका नेपालका कप्तान पौडेलले भने ब्याटिङ परेनन्। यो जितसँगै रोहितको टीम चार अंकसहित शीर्ष स्थानमा छ।