बिहिबार, कार्तिक २६ २०८३

बिहिबार, कार्तिक २६ २०८३

बागमतीका नवनियुक्त मुख्यमन्त्री लामाको शपथ आज

पहिलोपटक बागमतीमा कांग्रेसको नेतृत्व

बुधबार, साउन ९ २०८१

काठमाडौं । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री बहादुर सिं लामा (तामाङ)को शपथ ग्रहण आज हुने भएको छ ।

नवनियुक्त मुख्यमन्त्री लामाको शपथ ग्रहण समारोह प्रदेश प्रमुखको कार्यालय परिसरमा आज १०ः४५ बजेबाट सुरु हुने प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता गोविन्दप्रसाद पौडेलले जानकारी दिए ।

नेपाली काँग्रेस संसदीय दलका नेता लामालाई बागमती प्रदेशका प्रमुख यादवचन्द्र शर्माले नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम मङ्गलबार साँझ बागमती प्रदेशको मुख्यमन्त्रीमा नियुक्त गरेका थिए ।

दुई ठुला दल काँग्रेस र नेकपा एमालेबिचको सत्ता साझेदारी अनुसार काँग्रेस र र एमालेका प्रदेश सभा सदस्यको समर्थनमा लामालाई मुख्यमन्त्री बनाउन मङ्गलबार दिउँसो प्रदेश प्रमुख शर्मा समक्ष दाबी पेस गरिएको थियो ।

११० जना प्रदेश सभा सदस्य रहेको बागमती प्रदेश सभामा सबैभन्दा ठुलो दल काँग्रेसको ३७ र एमालेको २७ जना प्रदेश सभा सदस्य रहेका छन् ।

यसअघि बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलको राजीनामापछि प्रदेश प्रमुख शर्माले नयाँ सरकार गठनका लागि आइतबार प्रदेश सभामा प्रतिनिधित्व गर्ने दलहरूलाई आव्हान गरेका थिए ।

मुख्यमन्त्री जम्कट्टेल सरकारमा सहभागी एमालेले गत असार २४ गते सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै उनी अल्पमतमा परेका थिए ।

लामा मुख्यमन्त्री बनेसँगै नेपाली कांग्रेसले बागमती सरकारको पहिलोपटक नेतृत्व गर्ने अवसर पाएको छ । लामाले आजै कांग्रेसका ६ र एमालेका ६ मन्त्रीसहित १३ सदस्यीय मन्त्रिपरिषद्लाई एकैपटक पूर्णता दिने तयारी गरेको कांग्रेसका प्रमुख सचेतक गोविन्द लम्सालले जानकारी दिए ।

एमालेले ६ मन्त्रीको टुंगो लगाइसकेको छ भने कांग्रेसमा आकांक्षी धेरै भएकाले मन्त्री छनोटमा कठिनाइ भएको जनाइएको छ ।

एमाले संसदीय दलले प्रकाश श्रेष्ठलाई कृषि तथा पशुपन्छी मन्त्रालय, किरण थापा मगरलाई स्वास्थ्य मन्त्रालय, कृष्ण सिलवाललाई वन तथा वातावरण मन्त्रालय दिने टुंगो लगाएको छ ।

त्यस्तै, सुकमाया तामाङलाई उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालय, अमन मास्केलाई भौतिक पूर्वाधार विकास मन्त्रालय र प्रेमभक्त महर्जनलाई श्रम रोजगार तथा यातायात मन्त्रालयको जिम्मेवारी दिने भएको छ । कांग्रेसका मन्त्रीहरूको नाम आज बिहानसम्म टुंग्याइसक्ने लामाको सचिवालयले जानकारी दिएको छ ।