काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले प्रदान गरेको ‘डिजिटल फ्यान इन्गेजमेन्ट अफ दी इयर अवार्ड’ नेपालले जितेकोमा प्रधामन्त्री केपी शर्मा ओलीले बधाई दिएका छन् ।
इन्टरनेसनल क्रिकेट काउन्सिलले यस वर्षको आइसिसी डिजिटल फ्यान इन्गेजमेन्ट अवार्ड नेपाललाई प्रदान गर्ने घोषणा गरेको छ ।
“यस वर्षको आइसिसी डिजिटल फ्यान इन्गेजमेन्ट अवार्ड नेपालले पाएको छ, बधाई नेपाली”, प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा लेखेका छन् ।
नेपालले राम्रो क्रिकेट मात्र खेलेको नभई त्यति नै मात्रामा खेललाई पनि साथ दिएको प्रधानमन्त्रीले उल्लेख गरेका छन् ।
“हामी राम्रो क्रिकेट खेलिरहेका छौँ, अनि त्यति नै मात्रामा खेललाई समर्थन गरिरहेका छौँ, यसका लागि नेपाली खेलाडी, क्रिकेट प्रशासन र विश्वभर छरिएका खेलप्रेमी नेपाली दर्शक पनि बधाईका हकदार छन्”, प्रधानमन्त्री ओलीको ‘फेसबुक पेज’मा लेखिएको छ ।
२१ एसोसियट राष्ट्रहरूलाई पछि पार्दै नेपालले उक्त अवार्ड जितेको नेपाल क्रिकेट सङ्घले जनाएको छ ।
क्रिकेट खेलको धेरै दर्शक रहेको नेपाल यसअघि एसिया क्षेत्रबाट यो अवार्डका लागि छनोट भएको थियो । आइसिसीले नेपाली क्रिकेटको डिजिटल माध्यम फेसबुकमा चार सय प्रतिशतले वृद्धि भएकोसमेत जनाएको छ ।