शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

युरोकपमा क्वाटरफाइनलको पहिलो खेल आज जर्मनी र स्पेन भिड्दै

शुक्रबार, असार २१ २०८१

काठमाडौं । युरो २०२४ मा आजदेखि सुरु हुने क्वाटरफाइनलका खेलमा उपाधि दाबेदार दुई टोलीबीच प्रतिस्पर्धा हुँदैछ ।

पहिलो क्वाटरफाइनलमा आयोजक जर्मनीले स्पेनसँग प्रतिस्पर्धा गर्नेछ भने दोस्रो क्वाटरफाइनल खेल पोर्चुगल र फ्रान्सबीच हुनेछ ।

स्पेन र जर्मनी बीचको खेल नेपाली समय अनुसार राति ९ः४५ बजेदेखि सुरु हुँदैछ ।  पोर्चुगल र फ्रान्सबीचको खेल मध्यराति १२:४५ बजे सुरु हुनेछ ।

स्पेनले राउण्ड १६ मा जर्जियालाई ४-१ गोल अन्तरले पराजित गरेर क्वाटरफाइनलमा पुगेको हो ।

त्यसैगरी, जर्मनीले राउण्ड १६ को खेलमा डेनमार्कलाई २-० ले पराजित गर्दै क्वाटरफाइनलमा पुगेको हो ।

यस युरोकपका प्रमुख दाबेदार मानिएका स्पेन र जर्मनीको यो भिडन्त निकै रोचक हुने देखिएको छ ।

स्पेन र जर्मनीबीच अहिलेसम्म २६ खेल भएका छन् । जसमा जर्मनीले ९ खेल जितेको छ भने स्पेनले ८ खेल जितेको छ । ९ खेल भने बराबरी भएका छन् ।

युरोकपको अहिलेसम्मको यात्राको कुरा गर्दा स्पेनले अहिलेसम्म तीन पटक युरोकपको उपाधि जितेको छ । स्पेनले १९६४, २००८ र २०१२ मा युरोकपको उपाधि जितेको थियो ।

त्यस्तै, स्पेन १९८४ मा उपविजेता बनेको थियो ।

त्यसैगरी, यस युरोकपको आयोजकसमेत रहेको जर्मनीले अहिलेसम्म तीन पटक युरोकप जितेको छ भने तीन पटक उपविजेता बनेको छ ।

जर्मनीले पछिल्लो पटक १९९६ मा युरोकप जितेको थियो भने २००८ मा उपविजेता बनेको थियो ।