बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु

बुधबार, असार ५ २०८१

काठमाडौं । दैलेखको महाबु गाउँपालिका–६ रानीवन एकपातेस्थित सडकमा भे.१ च ३६०६ नम्बरको जिपले किचेर चालक सोही गाउँपालिका–६ बस्ने २५ वर्षीय चन्द्र काफ्लेको मंगलबार राति मृत्यु भएको छ । जिप धुने क्रममा अचानक जिप ब्याक भई किच्दाँ गम्भीर घाइते भएका उनको थप उपचारको लागि कर्णाली प्रदेश अस्पताल कालागाउँतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका सहचालकको सोही अस्पतालमा उपचार भइरहेको छ।

काभ्रेको नमोबुद्द नगरपालिका–७ भकुण्डे बुद्द चोकस्थित सडकमा भकुण्डेबाट कटुन्जेतर्फ जाँदै गरेको बा.१० च २४९६ नम्बरको बोलेरो गाडीको ठक्करबाट पैदलयात्री सोही नगरपालिका–७ बस्ने ८४ वर्षीय सेरब लामाको मंगलबार राति मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । बोलेरो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

सुनसरीको इटहरी उपमहानगरपालिका–५ महेन्द्र पेटोल पम्प नजिक सडकमा प्रदेश नम्बर १–०२ –०४५ प २ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री महोत्तरी गौशाला नगरपालिका–१ रामनगर बस्ने ७२ वर्षीय बिमल कुमार सापकोटाको मंगलबार दिउँसो मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको थप उपचारको क्रममा न्यूरो अस्पताल विराटनगरमा मृत्यु भएको हो । मोटरसाइकल चालक प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।