बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

कर्मचारी सञ्चयकोषमा पाँच लाख ८२ हजार सञ्चयकर्ता

नगद प्रवाह नै ऋणात्मक, कोषले योजनाअनुसार कारोबार गरेको देखिएन् : महालेखा

मंगलबार, असार ४ २०८१

काठमाडौं । सरकारी स्वामित्वको कर्मचारी सञ्चयकोषले योजना अनुसार काम गर्न नसकेको महालेखापरीक्षकको ६१ औं बार्षिक प्रतिवेदन २०८१ ले औंल्याएको छ । महालेखाका अनुसार कोषको सञ्चालन गतिविधिबाट भएको नगद प्रवाह गत वर्ष पाँच अर्ब ६८ करोड ७० लाख रुपैंयाँले ऋणात्मक रहेको थियो । यो वर्ष दुई अर्व ९७ करोड ८ लाख ऋणात्मक रहेको छ । नगद प्रवाह नै ऋणात्मक हुने गरी कार्य गरेको अवस्थाले कोषले व्यावसायिक योजनाअनुसार कारोबार सञ्चालन गरेको देखिएन, महालेखाले भनेको छ।

सेवा निवृत्त सेनाको सञ्चय कोष रकम व्यवस्थापन गर्ने प्रमुख उद्देश्यले संवत् १९९१ सालमा सैनिक कोष स्थापना भएकोमा हाल निजामती कर्मचारी, नेपाली सेना र नेपाल प्रहरीलगायतका कर्मचारीको सञ्चय कोष रकम प्रभावकारी ढङ्गले व्यवस्थापन गर्ने उद्देश्यले कर्मचारी सञ्चय कोष ऐन, २०१९ अनुसार कोष सञ्चालनमा रहेको महालेखाको भनाई छ । कोषले सार्वजनिक र निजी क्षेत्रका कर्मचारीलाई आफ्नो दायरामा ल्याई २०८० असार मसान्तसम्म करिब पाँच लाख ८२ हजार सञ्चयकर्ताबाट सञ्चित रकम व्यवस्थापन गर्दै आएको छ। उक्त ऐनको दफा ४ ले कोषको सञ्चालन एवं सुव्यवस्थापनको लागि नेपाल सरकारबाट नियुक्त अध्यक्षको अध्यक्षतामा नेपाल सरकारले नेपाल सरकारको विभिन्न सेवाबाट मनोनीत गरेका तीन जना सञ्चालक, बैंक, वित्तीय संस्था तथा अन्य सङ्गठित संस्थाहरूबाट दुई जना सञ्चालक र कोषका प्रशासक गरी सात सदस्यीय सञ्चालक समितिको व्यवस्था गरेको छ।

महालेखाका अनुसार कोषको २०८० आषाढ मसान्तको सञ्चित कोष चार खर्ब ६५ अर्व दुई करोड दुई लाख रुपैंयाँ रहेको छ भने निवृत्तभरण कोष छ अर्ब ३५ करोड ८३ लाख रुपैंयाँ रहेको छ। यसैगरी जगेडा तथा बचत ३६ अर्ब ८२ करोड ११ लाख र दायित्व छ अर्ब ९ करोड ८३ लाख रुपैंयाँ रहेको छ । यसैगरी स्थिर सम्पत्ति तीन अर्ब १५ करोड ९७ लाख, चालु सम्पत्ति पाँच खर्ब नौं अर्ब ७३ करोड छ लाख र अन्य सम्पत्ति एक अर्ब ४० करोड ७७ लाख समेत कुल सम्पत्ति पाँच खर्ब १४ अर्ब २९ करोड ८० लाख रहेको महालेखाले जानकारी दिएको छ । कोषले गत वर्ष ३३ अर्ब ९९ करोड ६७ लाख आम्दानीबाट पाँच अर्ब ५८ करोड १७ लाख रुपैंयाँ खुद मुनाफा गरेकोमा यो वर्ष ४४ अर्ब १७ करोड ५७ लाख आम्दानीबाट छ अर्ब ५ करोड ६२ लाख नाफा गरेको छ।

महालेखाका अनुसार नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाले सबै सरकारी निकायमा नेपाल वित्तीय प्रतिवेदनमान लागु गर्ने व्यवस्था गरेकोमा कोषले हालसम्म पनि प्रतिवेदनमान बमोजिम वित्तीय प्रतिवेदन तयार गरेको छैन । कोषले कार्यालय सञ्चालनको लागि भाडा / पट्टामा लिएका भवनहरूको नेपाल वित्तीय प्रतिवेदनमान–१६ (लिज) अनुसार लेखांकलन गरेको छैन । यसैगरी नेपाल वित्तीय प्रतिवेदनमान–१५ अनुसार कर्जा तथा लगानीबाट आर्जन हुने ब्याज आम्दानीलाई प्रोदभावी आधारमा मापन र नगदमा आर्जन नभएको ब्याज आम्दानीलाई सञ्चित मुनाफाबाट खर्च लेखी छुट्टै नेपाल वित्तीय प्रतिवेदनमान समायोजन कोष सिर्जना गरी लेखांकन गर्नुपर्नेमा उक्त कोष सिर्जना नगरी सम्पूर्ण मुनाफा रकमलाई त्यतिकै उल्लेख गरिएको छ।

महालेखाका अनुसार कोषले नियमसंगरुपमा काम नगर्दा सञ्चयकर्ताहरुले कोषप्रति गर्ने जनबिश्वासमा कम आउन सक्छ । यो अवस्था आउन नदिन र सञ्चयकर्ताहरुप्रति जवाफदेही हुन कोषले संस्थाभित्र भएका यि सबै बेथितीहरुलाई हटाउनुपर्नेमा पनि महालेखाले जोड दिएको छ । कोषको अहिले पनि बिभिन्न किसिमका पुर्वाधार, बिकास निर्माण, जलबिद्युत लगायतका क्षेत्रमा ठुलो परिमाणमा लगानी रहेको छ । यो लगानीको सुरक्षाको लागि पनि कोष स्वंम आफु जवाफदेही बन्नु पर्ने महालेखाको भनाई छ।