झापा । झापाको बिर्तामोडमा रहेको गिरीबन्धु टि स्टेट प्रा.लि.का सञ्चालक छत्र गिरीले गिरीबन्धु टि स्टेट राज्यको सम्पती नभएको बताएका छन् । उनले व्यक्तिको निजी सम्पत्तिलाई राजनीतिकरण गरेर विवाद उत्पन्न गराएको आरोप लगाएका हुन्।
बुधवार झापाको बिर्तामोडमा पत्रकार सम्मेलन गर्दै गिरीबन्धुका सञ्चालक गिरीले आफ्नो वा आफ्ना परिवारको स्वामित्वमा भएको गिरीबन्धु टि स्टेट राज्यको सम्पती नभएको जिकिर गरे।
‘हामीले २०२९ सालमा पाँचसय बिगाहा जमिनको हदबन्दी पाएका हौं, सरकारसँगको सम्झौता अनुसार हामीले ३९५ बिगाहा जमिन मात्र खरिद गर्न सक्यौं, गिरीबन्धु टी स्टेटका सन्चालक गिरीले भने,‘हामीले हदबन्दी छुट लिएको पाँचसय बिगाहभन्दा बढी जमिन मात्र सरकारले जफत गर्न सक्छ ।’
उनले गिरी परिवारको निजी सम्पत्तिको बिषयमा विभिन्न समुहको बुझाई नकारात्मक भइरहेको बताए ।
एकै पटक धेरै जग्गा पाउन गाह्रो हुने भएकाले विभिन्न व्यक्तिहरूसँगको सहकार्यमा जग्गाको कारोबार शुरु गरेको गिरीले स्वीकार गरे । दीपक मलहोत्रा, विष्णुबहादुर राईलगायत व्यक्तिहरूसँग जग्गा विषयमा कारोबार भएको उनले बताए।