जनकपुरधाम । डा. सीके राउत नेतृत्वको जनमत पार्टीले सप्तरीबाट प्रत्यक्ष निर्वाचित प्रदेशसभा सदस्य सतिश सिंहलाई मधेश प्रदेशको मुख्यमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरेको छ ।
जनमत पार्टीको बिहिबार बिहानै बसेको केन्द्रीय सचिवालय बैठकबाट सिंहलाई मुख्यमन्त्रीको उम्मेदवार बनाउने निर्णय भएको जनमतका प्रवक्ता शरद यादवले बताए ।
‘अध्यक्ष ज्यू अमेरिकामा हुनुहुन्छ, हामी काठमाडौंमा उपलब्ध सचिवालयका साथीहरु बसेर सिंहलाई अघि सार्ने निर्णयमा पुगेका छौं’ उनले भने ।
जनमतको संसदीय दलको नेतामा भने महेश प्रसाद यादव छन् । तर पार्टीले सिंहलाई मुख्यमन्त्री बनाउने निर्णय गरेको छ ।
मधेशमा जनमत नेतृत्वमा एमाले, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टीको सहयोगमा सरकार बनाउन लागिएको हो ।
यी दलहरुले सरकार निर्माणका लागि प्रदेश प्रमुख समक्ष बहुमत सदस्यको हस्ताक्षरसहित दावी पेश गर्न लागेका छन्।
नयाँ सरकारको नेतृत्व जनमतलाई दिने निर्णय पनि सत्ता गठबन्धनले गरिसकेको छ । जनमतले मुख्यमन्त्रीका लागि सारेका सिंह सप्तरी २‘क’ बाट निर्वाचित सांसद हुन् ।