बिहिबार, कार्तिक २६ २०८३

बिहिबार, कार्तिक २६ २०८३

एकीकृत समाजवादीको पोलिटब्युरो बैठक बस्दै

सोमबार, बैशाख ३१ २०८१

काठमाडौं । सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी) को पोलिटब्युरो समितिको बैठक आज बस्दैछ ।

बैठक आज बिहान ११ बजेबाट पार्टी केन्द्रिय कार्यालय आलोकनगरमा बस्नेछ । बैठकमा पार्टीको आसन्न राष्ट्रिय महाधिवेशनमा पेस हुने प्रतिवेदनसहितका मस्यौदामा छलफल हुनेछ ।

बैठकमा पार्टीको राजनीतिक, समाजवादी कार्यक्रम, साङ्गठनिक प्रतिवेदन, विधान संशोधन प्रतिवेदनको मस्यौदा प्रश्तुत गरिनेछ । एकीकृत समाजवादीको राष्ट्रिय महाधिवेशन आगामी असार १६ देखि २० गतेसम्म काठमाडौंमा हुँदैछ ।

हिजो सम्पन्न स्थायी कमिटी बैठकले राजनीतिक, समाजवादी कार्यक्रम, साङ्गठनिक प्रतिवेदन र विधान संशोधन प्रतिवेदन अनुमोदन गरेको छ ।

अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको अध्यक्षतामा बसेको बैठकले ती चारवटा प्रतिवेदन परिमार्जनसहित अनुमोदन गरेको केन्द्रीय प्रचार विभाग उपप्रमुख दामोदर अर्यालले जानकारी दिए । स्थायी कमिटी बैठकमा अध्यक्ष नेपालसहित २७ जना नेताले सुझावसहित धारणा राखेका थिए ।

अध्यक्ष नेपालले राष्ट्रिय महाधिवेशनका लागि तयार पारेको राजनीतिक प्रतिवेदन, सम्मानित नेता झलनाथ खनालले पार्टीको समाजवादी कार्यक्रम, महासचिव घनश्याम भुसालले साङ्गठानिक प्रतिवेदन, उपाध्यक्ष डा वेदुराम भुसालले विधान संशोधन प्रतिवेदन प्रस्तुत गरेका थिए ।

पार्टीको राष्ट्रिय महाधिवेशन आगामी असार १६ देखि २० गतेसम्म काठमाडौँमा हुँदैछ । सोही महाधिवेशनमा प्रस्तुत हुने प्रतिवेदनको मस्यौदामा पोलिटब्यूरो बैठक र त्यसलगत्तै बस्ने केन्द्रीय कमिटी बैठकले दिएको सुझावका आधारमा त्यसलाई पूर्णता दिइने बताइएको छ ।