मार्सेली । स्वागत समारोहका लागि भव्य थ्रि–मास्ट जहाजमा आइपुगेको एक दिनपछि मसालवाहकहरूले फ्रान्सको दक्षिणी बन्दरगाह शहर मार्सेलीका सडकमार्फत ओलम्पिक ज्वाला बोक्नेछन्।
पेरिसमा जुलाई २६ मा ओलम्पिक खेलकुदको उद्घाटन समारोहसम्ममा ४५० भन्दा बढी शहर हुँदै करिब १० हजार मसालवाहकले मुलुकभर ११ साताको यात्रा सुरु गर्नेछन् । सन् १९९० को दशकमा मार्सेली टिमबाट खेल्ने पूर्वफुटबल खेलाडी बेसिल बोलीले बिहीबारको पहिलो रिले नोट्रे डेम डे ला गार्डे बेसिलिकाबाट सुरुवात गर्नेछन्।
बास्केटबल खेलाडी टोनी पार्करले बिहीबारपछि रिलेमा आफ्नो पालो लिनेछन् । मसाल बोक्नका लागि एक तरबारबाज च्याम्पियन, एक स्केटबोर्डर, एक मिसेलिन–ताराकिंत सेफ र एक हाँस्य अभिनेतालाई पनि छनोट गरिएको छ।
मार्सेलीका उत्साही फुटबल प्रशंसकहरूको घर प्रसिद्ध स्टेड वेलोड्रोमको छतमा मसाल लैजानका लागि सहभागीहरूले शहरको सबैभन्दा प्रतीकात्मक स्थानहरूमार्फत दिनभर दौडने तालिका छ । शहरले बुधबार ओलम्पिक ज्वालाको आगमनको खुशीयाली धुमधामसँग मनायो । मार्सेलीका मेयर बेनोइट पायनले ओल्ड पोर्टमा दुई लाख ३० हजारभन्दा बढी मानिस समारोहमा सहभागी भएको बताउनुभयो । ‘यो अविश्वसनीय र जादुमय छ, हामीलाई यसको आवश्यकता थियो, हामीसँग मार्सेलीमा यस्तो प्रकारको घटना वा सुन्दर चिजहरू कहिल्यै हुँदैनन्’, मार्सेलीका बासिन्दा अमेल सेकोले भन्नुभयो । ‘यो यस्तो चिज हो जुन तपाईंले आफ्नो जीवनमा कम्तीमा एक पटक अनुभव गर्नुपर्छ… हामीसँग सूर्य र ओलम्पिक ज्वाला छ’, मार्सेलीका अर्का बासिन्दा मौना बौल्हासले भन्नुभयो । खेलहरूको समयमा मार्सेलीमा नौकायान प्रतियोगिता र केही फुटबल खेल आयोजना हुनेछन् । रासस/एएफपी ।