बुधबार, कार्तिक २५ २०८३

बुधबार, कार्तिक २५ २०८३

सन्दीपले भने : ममाथि षड्यन्त्र भयो र यसमा भूमिका खेल्नेको नाम छिट्टै सार्वजनिक गर्छु

बिहिबार, बैशाख २० २०८१

काठमाडौं ।बलात्कार मुद्दामा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेले आफू षड्यन्त्रको सिकार भएको बताएका छन्।

बुधबार टी- २० विश्वकपको नेपाली टिम घोषणा भएपछि सामाजिक सञ्जालमा सन्दीपले आफूमाथि षड्यन्त्र भएको र यसमा भूमिका खेल्नेको नाम छिट्टै सार्वजनिक गर्ने बताएका छन्।

‘मैले लामोसमय पोस्ट गर्नबाट आफूलाई टाढा राखें। म षड्यन्त्रको शिकार भएकोमा मलाई कुनै शंका छैन । यस षड्यन्त्रमा आफ्नो भूमिका खेल्ने सबैलाई भगवानले आशिष दिउन्। म सबै कुरा भगवानमा छोड्छु। सत्यतथ्य बाहिर नआएसम्म समयले बताउनेछ ।’ उनले भनेका छन् ।

अर्को पोष्ट गर्दै उनले यस षड्यन्त्रमा भूमिका खेल्ने प्रत्येक व्यक्तिको नाम छिट्टै सार्वजनिक गर्ने समेत उनले बताएका छन् ।

उनले भनेका छन्, ‘म सम्बन्धित अदालतको कानून र आदेशको सम्मान गर्दछु तर म यस षड्यन्त्रमा आफ्नो भूमिका खेल्ने प्रत्येक व्यक्तिको नाम छिट्टै सार्वजनिक गर्ने सबैलाई प्रतिज्ञा गर्दछु जो यस मुद्दामा संलग्न छन्।’

बुधबार नेपालको स्क्वाड घोषणा भएपछि सन्दीपले सामाजिक सञ्जालमा सुरुमा एउटा इमोजी पोस्ट गरेका थिए ।

२०७९ भदौमा बलात्कारको उजुरीपछि सन्दीपलाई गत पुसमा जिल्ला अदालत काठमाडौंले आठ वर्ष कैद, तीन लाख जरिबाना र दुई लाख क्षतिपूर्ति भराउने फैसला सुनाएको थियो।

जिल्ला अदालतको यो निर्णयविरुद्ध सन्दीपले उच्च अदालतमा पुनरावेदन दिएका छन् । यस्तै जिल्ला अदालतको फैसलाउपर जिल्ला सरकारी वकिलको कार्यालयले पनि उच्च अदालत पाटनमा पुनरावेदन गरेको छ।

अहिले उच्च अदालत पाटनले दुवै पुनरावेदनलाई एक साथ राखेर सुनुवाइ गरिरहेको छ।

नेपाली क्रिकेटलाई विश्वकपसम्म पुर्याउन उनको योगदान थियो । तर सन्दीप विश्वकप जस्तो महत्वपूर्ण सोही इभेन्टमा अनुपस्थित हुने भएका छन् । सन्दीपको मुद्दा उच्च अदालतमा विचाराधीन छ । मुद्दाको फैसला भएर सफाइ नपाउँदासम्म उनी खेल जीवनमा फर्किन असमर्थ छन् ।