बुधबार, कार्तिक २५ २०८३

बुधबार, कार्तिक २५ २०८३

सहकारी संस्थाको रकम हिनामिनाको आरोपमा राप्रपाकी सांसद बस्नेतविरुद्ध पक्राउ पुर्जी जारी

बुधबार, बैशाख १९ २०८१

काठमाडौं । सहकारी संस्थाको रकम अपचलनमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) पनि मुछिएको छ । संसदको चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पछि सुशासनको दुहाइ दिइरहेको राप्रपाका एक सांसद पनि सहकारीको रकम अपचलनमा मुछिएकी छन् ।

राप्रपाकी सांसद गीता बस्नेतविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । सांसद बस्नेत भने अहिले फरार रहेको प्रहरी जनाएको छ ।

नवलपुरको कावासोतीमा रहेको छिपछिपे उपभोक्ता सहकारी संस्थाको रकम अपचलन गरेको आरोप लागेपछि नवलपुर प्रहरीले बस्नेतलाई पक्राउ गर्नका लागि अदालतसमक्ष अनुमति मागेको थियो ।

अदालतले बस्नेतलाई पक्राउ गर्न अनुमति दिएको नेपाल बार एसोसिएसन, नवलपुरका अध्यक्ष चेतप्रसाद डुम्रेले जानकारी दिनुभयो । जिल्ला प्रहरी कार्यालय नवरपुरले सांसद बस्नेतलाई पक्राउ गर्न आइतबार नै अनुमति मागेको थियो ।

बस्नेतले चितवनको आफन्तको मिलेमतोमा सनराइज सहकारीबाट २० करोड, बर्दियाको नमस्ते सहकारीबाट ७ करोड र नवलपुरको कावासोतीमा रहेको छिपछिपे उपभोेक्ता सहकारी संस्थाबाट एक करोडभन्दा बढी रकम निकासी गरेको प्रहरी स्रोतको दाबी छ ।