बुधबार, कार्तिक २५ २०८३

बुधबार, कार्तिक २५ २०८३

गोरखाका मतदातासँग बाबुरामले भने : सहयोगको बदलामा प्रचण्डले जालझेल गरे, गोरखा-२ छोड्नु मेरो गल्ती!

बिहिबार, बैशाख १३ २०८१

काठमाडौं । नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गत चुनावमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई गोरखा- २ छोडेर आफूले गल्ती गरेको आत्मसमीक्षा गरेका छन् ।

सामाजिक सञ्जाल ट्वीटरमार्फत् प्रतिक्रिया दिँदै भट्टराईले आफूले असल मनसायले गरेको निर्णयले आम जनता र पार्टीका नेता कार्यकर्तामा पर्न गएको असुविधाप्रति क्षमायाचना गरेका छन् ।

२०७९ को आम चुनावमा भट्टराईले प्रचण्डका लागि आफूले जित्दै आएको गोरखा–२ छोडिदिएका थिए । कहिलेकाहीँ असल मनसायले गरेको कामको गलत परिणाम आउले उनले बताएका छन् ।

उनले भनेका छन्, ‘मासिक जिल्ला भ्रमणको क्रममा अत्यधिक जनसमुदाय र पार्टीका साथीहरूले मैले गत आम निर्वाचनमा गोरखा–२ बाट उम्मेदवार नबन्नु र प्रचण्डलाई छोडिदिनु गम्भीर गल्ती भएको बताउनु भएको छ। साथै समाजको विकासको स्तर, औसत जनचेतना र विद्यमान संसदीय राजनीतिका प्रमुख खेलाडीहरूको भ्रष्ट, अनैतिक र पाखण्डी चरित्रको ख्याल नगरी ‘गान्धीवादी’ आदर्श र त्यागको मार्ग अवलम्बन गर्नु मेरो कमजोरी रहेको भनेर खुला आलोचना गर्नुभएको छ।’

आफूले प्रचण्डलाई निस्वार्थ गरेको सहयोगको बदलामा अनर्गल झुट र जालझेलका प्रपन्च रचेर चरम अशोभनीय हर्कत गर्दै गैरहेको उनको आरोप छ ।

उनले भनेका छन् ‘निर्वाचन यता मुख्यतः प्रचण्डको सत्तालिप्सा र दोधारे चरित्र झन् नांगो रूपमा प्रदर्शित हुँदै गैरहेको, उल्टै मैले उनलाई निस्वार्थ गरेको सहयोगको बदलामा अनर्गल झुट र जालझेलका प्रपन्च रचेर चरम अशोभनीय हर्कत गर्दै गैरहेको, देश र जनताका आकांक्षामा गम्भीर कुठाराघात गरिरहेको, जनयुद्धमा लाखौं जनताका अतुलनीय त्याग र बलिदानलाई उनको सत्तास्वार्थसँग साटेर सत्य निरूपण तथा मेलमिलाप र बेपत्तासम्बन्धी आयोगहरूका कामलाई टुंग्याउनु सट्टा खेलवाड गरिरहेकोलगायत घटनाक्रमहरूले गोरखाली मतदाताहरूले व्यक्त गरेको असन्तुष्टि र मसँग गरेको गुनासोलाई अन्यथा भन्न सकिने अवस्था रहेन ।’