शुक्रबार, साउन १५ २०८३

शुक्रबार, साउन १५ २०८३

नेकपा स्थापना दिवसमा प्रधानमन्त्रीको शुभकामना

सोमबार, बैशाख १० २०८१

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाल कम्युनिस्ट पार्टीको ७५ औं स्थापना दिवसको अवसरमा शुभकामना व्यक्त गरेका छन् ।

शुभकामना सन्देश मार्फत उनले वामपन्थी, देशभक्त तथा प्रगतिशील शक्तिहरूबीच सहकार्यका साथ सुशासन, सामाजिक न्याय र समृद्धिको लक्ष्यमा आफूहरू अग्रसर भइरहेको बताएका छन् ।

कम्युनिस्ट क्रान्तिकारी र वामपन्थी प्रगतिशील शक्तिबीच एकता र ध्रुवीकरणको अभियानमा लामवद्ध हुन तथा समाजवादको आधार निर्माणको अभियानमा सहभागी हुन प्रधानमन्त्री प्रचण्डले अपील गरेका छन् ।

लेनिन जयन्तीको अवसर पारेर नेपालमा आजभन्दा ७५ वर्ष पहिले २००६ सालमा नेपाल कम्युनिस्ट पार्टी स्थापना भएको उनले स्मरण गरेका छन् । उनले भनेको छन्, ‘वर्गसंघर्ष र अन्तरसंघर्षका अनुभव र आन्दोलनका विभिन्न आरोह अवरोहका साथ नेपालको कम्युनिस्ट आन्दोलनले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापना गर्दै समाजवादको दिशा परिलक्षित गरेको छ । यसले जनवादी क्रान्तिको मूलभूत कार्यभार नेपाली विशिष्टता र मौलिकतासहित पूरा गर्दै समाजवादी क्रान्तिको आधारविन्दु निर्माण गरेको छ ।’

उनले भनेका छन्, ‘विचारधारात्मक सङ्घर्ष एवं एकता र विभाजनका अनेकौँ अनुभवसहित यतिबेला हामी वामपन्थी, देशभक्त तथा प्रगतिशील शक्तिहरूबीच सहकार्यका साथ सुशासन, सामाजिक न्याय र समृद्धिको लक्ष्यमा अग्रसर भइरहेका छौँ । यसले हामीलाई एकातर्फ बदलिएको राजनीतिक प्रणालीअनुरूप जनताको जीवनमा परिवर्तन ल्याउँदै समाजवादको लक्ष्य प्राप्तिमा मार्गनिर्देश गर्नेछ भने अर्कोतर्फ सत्ता समीकरण, सहकार्य र सहयात्रा हुँदै एउटै कम्युनिस्ट केन्द्रको साझा सपना र सङ्कल्पलाई सार्थक तुल्याउनेछ । तसर्थ, आजको दिन विगतका अनुभवहरूको समीक्षा र संश्लेषणसहित वामपन्थी शक्तिहरूबीच वैचारिक र राजनीतिक प्रश्नमा गहन छलफलका साथ साझा निष्कर्षमा पुग्न सङ्कल्प गर्ने दिन पनि हो ।’

‘कम्युनिस्ट एवं वामपन्थी शक्तिहरूको साझा सङ्कल्प, सहकार्य र एकताको आधारमा मात्रै देशमा विद्यमान चुनौतीहरू सम्बोधन गर्दै आशाको रक्तसञ्चार सिर्जना गर्न सम्भव छ भन्ने निष्कर्षका साथ सुरू गरिएको सत्ता सहयात्रालाई विभिन्न चुनौतीहरूबाट जोगाउँदै निर्धारित लक्ष्यसम्म पुर्‍याउनु हामी सबैको साझा जिम्मेवारी हो ।’ उनले भने ‘यस दिशामा सम्पूर्ण वामपन्थी शक्तिहरू एवं सम्पूर्ण क्रान्तिकारी जनसमुदायको सकारात्मक योगदान रहनेमा म विश्वस्त छु ।’

लेनिन जयन्ती तथा पार्टी स्थापना दिवसको यस ऐतिहासिक अवसरमा म देशका सम्पूर्ण कम्युनिस्ट क्रान्तिकारी र वामपन्थी प्रगतिशील शक्तिबीच एकता र ध्रुवीकरणको अभियानमा लामवद्ध हुन तथा समाजवादको आधार निर्माणको ऐतिहासिक अभियानमा सहभागी हुन उनले अपील गरेका छन् ।