सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले प्रदेशका नवनियुक्त मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई विहीबार साँझ पद तथा गोपनीयताको शपथ गराएका छन् ।
धनगढीस्थित प्रदेशप्रमुखको कार्यालयमा मुख्यमन्त्रीलाई नेपालको संविधानको धारा, १७२ बमोजिम पद तथा गोपनीयताको शपथ गराए । विसं २०७९ को निर्वाचनमा लोकतान्त्रिक–वाम गठबन्धनको नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) बाट कैलाली निर्वाचन क्षेत्र ४ को प्रदेशसभा ‘क’ प्रदेशसभा सदस्यमा निर्वाचित सोडारी प्रदेशसभामा सो पार्टीको संसदीय दलका नेता छन् ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष पक्षधर सदस्य र स्वतन्त्र सदस्य डा तारा जोशी समेतको समर्थनमा सोडारी मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । अछामको मङ्गलसेनमा विसं २०३४ मा जन्मिएका सोडारीको हालको स्थायी बसोबास कैलालीको मसुरिया र अस्थायी बसोबास धनगढीमा छ ।
शिक्षाशास्त्रमा स्नातकसम्म अध्ययन गरेका सोडारी विसं २०७० मा नेपाल कम्युनिष्ट पार्टी .एमाले) को कैलाली जिल्ला अध्यक्ष थिए । तत्कालीन नेकपा विभाजनका बेला उनी नेकपा (एकीकृत समाजवादी) पार्टीमा लागेका थिए ।
प्रदेशसभाको विसं २०७४ मा भएको पहिलो निर्वाचनमा समेत सोही क्षेत्रबाट विजयी सोडारी निर्वाचनपछि गठन भएको प्रदेश सरकारको भौतिक पूर्वाधार विकासमन्त्रीको समेत जिम्मेवारी बहन गरेका थिए। विगतका राजनीतिक आन्दोलनमा पटकपटक जेल परेका उनी पार्टीको कुशल सङ्गठनकर्ताका रुपमा चिनिन्छन् ।