बुधबार, कार्तिक २५ २०८३

बुधबार, कार्तिक २५ २०८३

गोली हानेर हात्ती मारेर दारा र पुच्छरको रौँ तस्करी

बिहिबार, बैशाख ६ २०८१

झापा । तस्करले झापामा हात्तीलाई गोली हानेर मारी दारा र पुच्छरको रौँ लगेको पाइएको छ ।

मेचीनगर नगरपालिका वडा नं ११ स्थित कालिका सामुदायिक वनभित्र मङ्गलवार दिउँसो करिब ४० वर्ष उमेरको वयस्क हात्ती मृत अवस्थामा फेला परेको थियो ।

डिभिजन वन कार्यालय झापाका प्रमुख मेघराज राईका अनुसार कानको छेउमा गोली हानेको भेटिएको छ ।

हात्तीको अन्य भागमा गोली नछिर्ने भएकाले कान छेउको भागमा गोली हानेर हात्ती मारिएको हुनसक्छ । कहाँ गोली लाग्छ भनेर थाहा पाउने सिकारीको समूहले गोली हानेको देखिन्छ, उनले भने । तीन राउन्ड गोली हानेर हात्ती मारेको पाइएको उनले जनाए ।

धेरै भित्र गोली पसेकाले झिक्न सकिएन, राईले भने कुन बन्दुकबाट गोली हानिएको थियो भन्ने पत्ता लगाउनका लागि गोली झिक्न सक्नुपर्छ तर सकिएन ।

हात्ती मारेर आराले दारा काटेको प्रारम्भिक अनुसन्धानमा देखिएको छ । करेन्ट लगाएर यसभन्दा अघि हात्तीहरू मार्ने र विद्युतीय धरापमा परेर यसभन्दा अघि हात्तीहरू मारिने गरे पनि बन्दुकको गोलीले हात्ती मारिएको यो पहिलो घटना भएको जनाइएको छ ।

हात्तीको दारा र पुच्छर महँगो मूल्यमा बिक्री हुने भएपछि तस्कर समूहले पहिलो पटक झापामा यस प्रकारको घटना घटाएको डिभिजन वन कार्यालय झापाको भनाई छ ।