काठमाडौं । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री जोखबहादुर महराले आज विश्वासको मत लिँदै छन् ।
शुक्रबार दिउँसो १ बजे बस्ने प्रदेशसभा बैठकबाट महराले विश्वासको मत लिने संसद्को कार्यसूची छ ।
नेकपा माओवादी केन्द्रका नेता महरा यही चैत २३ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए । शपथ र पदभार ग्रहण भने उनले २५ गते गरेका थिए ।
८७ सदस्यीय प्रदेशसभामा नेकपा एमालेका २९, माओवादीका १०, जनता समाजवादी पार्टी (जसपा) ३, नेकपा एकीकृत समाजवादी र स्वतन्त्र गरी ४४ सांसदको समर्थनमा महरा मुख्यमन्त्री नियुक्त भएका हुन् ।
महरालाई पछि नागरिक उन्मुक्ति पार्टी (नाउपा) समर्थन गरेको थियो । नाउपाका ४ सांसद छन् ।
लुम्बिनीमा चार सदस्यीय सानो आकारको मन्त्रिमण्डल बनिसकेको छ ।