काठमाडौं । संघीय संसद अन्तर्गत राष्ट्रियसभा बैठक आज बस्दैछ ।
बैठक दिउँसो सवा १ बजे संसद भवन नयाँबानेश्वरमा बस्ने गरी बोलाइएको छ । संसद सचिवालयका अनुसार आजको बैठकमा राष्ट्रियसभाको उपाध्यक्षका लागि निर्वाचन हुनेछ ।
राष्ट्रिय सभा उपाध्यक्ष पदका लागि सत्ता गठबन्धन दलका तर्फबाट नेकपा एमालेकी विमला घिमिरे र प्रतिपक्षी दलका तर्फबाट नेपाली कांग्रेसकी विष्णुदेवी पुडासैनी उम्मेदवार छन् ।
जसका लागि राष्ट्रियसभा सदस्य दुर्गा गुरुङले ‘बिष्णुदेवी पुडासैनीलाई राष्ट्रियसभाको उपाध्यक्ष पदमा निर्वाचित गरियोस्’ भन्ने प्रस्ताव सभा समक्ष प्रस्तुत गर्नेछन्।
यस्तै, सांसद भगवती न्यौपानेले ‘विमला घिमिरेलाई राष्ट्रियसभाको उपाध्यक्ष पदमा निर्वाचित गरियोस्’ भन्ने प्रस्ताव सभा समक्ष प्रस्तुत गर्ने कार्यक्रम छ ।
त्यसपछि बैठकमा राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले उपाध्यक्षका दुवै उम्मेदवारका प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।
जुन प्रस्ताव बहुमतले पारित हुन्छ सोही प्रस्तावका उम्मेदवार विजयी हुनेछन् । राष्ट्रियसभामा हाल ५८ जना सांसद छन् । एकजना भने राष्ट्रपतिबाट मनोनीत हुन बाँकी छ ।
राष्ट्रियसभा सदस्यमा पुडासैनी नेपाली कांग्रेसबाट र घिमिरे सत्ता गठबन्धनमा एमालेका तर्फबाट उम्मेदवार रहेका छन् ।
यस्तै आजको राष्ट्रियसभा बैठकमा राष्ट्रियसभाबाट पारित भइ सन्देशसहित प्रतिनिधिसभामा पठाइएको ‘खाद्य स्वच्छता तथा गुणस्तर विधेयक २०७७’ का सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देशको राष्ट्रियसभाका सचिव सुरेन्द्र अर्यालले जानकारी गराउने छन् ।
एमालेको तर्फबाट उम्मेदवारी दिएकी घिमिरेलाई सत्ता गठबन्धनको पनि साथ भएकाले जित निश्चित छ ।