काठमाडौं । नेपाल इञ्जिनियरिङ कलेजका तत्कालीन अध्यक्ष लम्बोदर न्यौपाने सम्पत्ति शुद्धीकरणको अभियोगमा समेत दोषी ठहर भएका छन् ।
विशेष अदालतले उनलाई नेपाल इञ्जिनियरिङ कलेजको सम्पत्ति गैरकानूनी रुपमा आफ्नो खातामा राख्ने निर्णय गरेकोमा दोषी ठहर गरेको हो ।
विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्य रामबहादुर थापाको इजलासले उनलाई दोषी ठहर गर्दै सजाय निर्धारणका लागि १६ वैशाख, २०८१ मा पेशी तोक्न आदेश दिएको छ ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले न्यौपानेसहित कलेजका तत्कालीन सञ्चालकविरुद्ध गैरकानूनी रुपमा सम्पति आर्जन गरेको आरोपमा मुद्दा दायर गरेको थियो । सो मुद्दामा न्यौपाने बाहेक अन्यले भने सफाइ पाएका छन् । कलेजका अर्का सञ्चालक रामरत्न उपाध्याय, इन्दिरा उपाध्याय, उपेन्द्र गौतम, लबराज भट्टराई, सूर्यबहादुर केसी (दिवंगत), र दीपक भट्टराई (दिवंगत) र हरिप्रसाद पाण्डेले सफाइ पाएका छन् ।
न्यौपानेले १२ करोड ४४ लाख रुपैयाँ गैरकानूनी रुपमा आर्जन गरेको अदालतको ठहर छ । उनले कलेजको रकम आफ्नो निजी खातामा हालेका थिए ।
५ वर्षसम्म उनले कलेजबाट मासिक ६ लाख रुपैयाँ पारिश्रमिक, १ करोड ५० लाख रुपैयाँको गाडी लिनुका साथै विभिन्न शीर्षकमा हजारौं रुपैयाँ भत्ता लिने गरेका थिए ।