बुधबार, कार्तिक २५ २०८३

बुधबार, कार्तिक २५ २०८३

वीर अस्पतालको सामान खरिदमा घोटाला !

आइतबार, चैत्र २५ २०८०

काठमाडौं – नेपालको सबै भन्दा पुरानो र गरिब जनताको उपचारको एक मात्र थलोको परिचय बनाएको चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (वीर अस्पताल) मा बिरामीका लागि आवश्यक पर्ने अस्पताल सामाग्री खरिदमा ठूलै अनियमिता हुने गरेको खबर छ । जनरल स्टोर (जिन्सी) प्रमुख तथा अस्पताल विकास समिति अन्तर्गतका कर्मचारी बैकुण्ठ प्रसाद लुइँटेल र निर्देशक डा. सन्तोष पोडेललगायत कर्मचारीले व्यवसायीसँग मिलेर सामान खरिदमा अनियमितता गरेको आरोप छ ।

जनरल स्टोरमार्फत अस्पताललाई आवश्यक स्टेशनरी, छपाई, सरसफाइ, कम्प्युटर मर्मत, टोनर, हाउस किपिङका, विद्युत र प्लम्बिङका सामग्रीलगायत खरिद तथा मर्मत सम्भारमा नाममा अनियमितता गरिएको स्रोत बताउछ । यस्ता खुद्रा सामग्री अस्पतालले वार्षिक रु. ५–१० करोडसम्मको हरेक बर्ष खरिद गर्दै आएको स्रोतको दावी छ । जसमा ८० देखि एक करोडसम्म कमिशन र बिलबिजक मिलाएर अस्पताल प्रशासन, स्टोर, निर्देशक र लेखाका कर्मचारीले एक आपसमा बाँडीचुँडी गर्दै गरिब बिरामीको उपचारमा आएको रकमको अपचलन गर्दै भागशान्तिमा सक्ने गरेको अस्पताल स्रोतले जानकारी दिएको छ ।

स्रोत भन्छ, अस्पताल प्रशासनले चालुु आर्थिक वर्ष २०८०/८१ का लागि गत साउन महिनामा खरिद गर्नुपर्ने यस्ता आवश्यक सामग्रीको स्टिमेट तयार गरी टेण्डर आव्हान गर्नुपर्नेमा ६ महिनापछि २०८० माघ–फागुनमा खरिद गरेको थियो । यसरी सामान खरिद गर्दा साउन महिनादेखि वील भर्पाई तयार गरिएको र विगतमा खरिद गरिएको सामग्री उपलव्ध गराउँदै माग फारम स्वीकृत गरेर मिलेमेतोमा व्यवसायीलाई भुक्तानी दिएर कमिशन असुल्ने गरेको आरोप छ ।

सामान खरिदको टेण्डर २०८० माघ–फागुनमा खुलाएर स्वीकृत गरेता पनि खरिद गरिएका सामानको माग फारम चाहिँ साउनदेखिको वितरणको व्यवस्था मिलाएर स्टोर प्रमुख लुइँटेलले अनौठो कार्य गर्दै आएको कर्मचारी स्रोत बताउछ । सामान माघ÷फागुनमा खरिद गर्ने तर साउनदेखि विभिन्न शाखा र विभागमा दिएको हिसावकिताव राखेर विद्यमान ऐन कानूनको वर्खिलाफ कार्य गर्ने गरेको कर्मचारीहरु बताउँछन । भोलि महालेखापरीक्षक कार्यालयबाट अडिटका लागि आउने कर्मचारीले लेखापरीक्षण कसरी गर्नेछन् अस्पतालमा कर्मचारीहरूले यस्तो सवाल पनि उठाएका छन् ।

अनियमित किसिमले खरिद गरिएको सामानमा सप्लायर्स कम्पनीसँग १५ देखि २० प्रतिशतसम्म कमिशन अग्रिम लिने सहमति नगरेसम्म खरिद शाखा प्रमुख लुइँटेलले भुक्तानीको फाइल अगाडि नबढाउने गरेको स्रोतले बताएको छ । व्यवसायीसँगको मिलेमतोमा खरिद गरिएका सामानको कमिशन रकम खरिद शाखा प्रमुख, लेखा, स्टोर प्रमुख, प्रशासन महाशाखा प्रमुख विष्णु घिमिरेलगायतले आपसमा दर्जा अनुसार भागबन्डा गरी लिने गरेको स्रोतले जानकारी दिएको छ ।

अर्कोतिर, अस्पताललाई धेरै चाहिने आवश्यक सामग्री मिलेमतो गरी महंगो दररेटमा खरिद गर्ने र कम आवश्यक पर्ने सामग्री चाहिँ सस्तो दररेटमा व्यवसायीलाई हाल्न लगाएर स्टोर प्रमुख लुइँटेलले सारभूतरूपमा सेटिङ धन्दा संचालन गर्दैै आएको स्रोत बताउँछ । सस्तो परेको टेण्डर भन्दा महंगो दररेटको टेण्डर स्वीकृत गर्ने प्रचलन वीर अस्पतालमा २०५४ सालदेखि चल्दै आएको छ । यतिसम्मकि सामान खरिद पेश गरिएको स्पेक सच्चाएर बजार मूल्य भन्दा बढी मूल्यमा कतिपय सामान खरिद गरिएको छ । यसरी खरिद गरिएका सामानको बिल भुक्तानी गर्दा ५० प्रतिशत व्यवसायी र ५० प्रतिशत कर्मचारीले भागबण्डा गर्दै आएको दावी स्रोतको रहेको छ ।

पूर्व स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले यस्तै खरिद घोटलामा संलग्न भएको आरोपमा निर्देशक पौडेललाई हटाएका थिए । पौडेल अन्तरिम आदेशमार्फत पुन अस्पतालको निर्देशकमा फर्किन सफल भएका थिए । निर्देशक पौडेल सरल र सिधा स्वभावका भएपनि यस्ता बिषयमा भने एक कदम अगाडि रहेको व्यवसायीहरु नै बताउँछन् । साँघु साप्ताहिकबाट