बुधबार, कार्तिक २५ २०८३

बुधबार, कार्तिक २५ २०८३

इलाम-२ मा विप्लवसहित तीन दलको समर्थन सुहाङ नेम्वाङलाई

आइतबार, चैत्र २५ २०८०

इलाम । इलाम क्षेत्र नम्बर २ उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवारलाई तीन दलले समर्थन गरेका छन् ।

वैशाख १५ गते हुने उपनिर्वाचनमा इलाम क्षेत्र नम्बर २ मा एमालेले संविधान सभाका सभाध्यक्ष एवं एमाले नेता स्वर्गिय सुभाषचन्द्र नेम्वाङका छोरा सुहाङ नेम्वाङलाई उम्मेदवार बनाएको छ ।

सुहाङलाई सत्तारुढ दल नेकपा माओवादी केन्द्र र विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले पनि सघाउने भएका छन् ।

इलाम स्थित नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) ले एमाले उम्मेदवार सुहाङ नेम्बाङलाई आउँदो उपनिर्वाचनमा विजयी गराउने प्रतिबद्धता गरेका छन् ।

एमाले जिल्ला अध्यक्ष महेश बस्नेत र माओवादी जिल्ला संयोजक विजय खम्बूले सुहाङलाई ‘अत्यधिक बहुमतका साथ जिताउन’ जिल्लाका सबै नेता–कार्यकर्तालाई लिखित अपिल गरेका हुन् ।

एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच इलाम क्षेत्र २ को उपनिर्वाचनमा एमाले उम्मेदवारलाई दुवै दलले जिताउने सहमति भएको थियो । यसअघि माओवादी जिल्ला कमिटीले केन्द्रीय सदस्य धीरेन्द्र शर्मा रमणलाई उम्मेदवारका लागि सिफारिस गरेको भए पनि उनले उम्मेदवारी नदिने र एमाले उम्मेदवारलाई सहयोग गर्ने केन्द्रमा सहमति भएको थियो । ०७९ को निर्वाचनमा तत्कालीन सत्ता गठबन्धनका कांग्रेस, माओवादी, नेकपा एसलगायत दलको गठबन्धन थियो । एक्लै प्रतिस्पर्धा गरेको एमालेले गठबन्धनका उम्मेदवारलाई हराएको थियो ।

कम्युनिष्ट शक्ति र समाजवादी जनमतको रक्षाका लागि भन्दै सो पार्टीले इलाममा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङलाई सघाउने निर्णय गरेको हो । सो पार्टी सुहाङलाई मत हाल्न निर्देशन कार्यकर्तालाई निर्देशन समेत दिएको छ।

शनिबार पार्टीका इलाम इञ्चार्ज मौसम सी, नेकपा माओवादी केन्द्रका इलाम संयोजक विजय खम्बु र एमाले इलाम अध्यक्ष संयुक्त विज्ञप्ति निकालेर तीन पार्टी बीच चुनावी तालमेल गर्ने सहमति जुटेको जनाएका थिए ।

त्यसलगत्तै विप्लव नेतृत्वको नेकपा माओवादीका केन्द्रीय सदस्य तथा मेची ब्युरो इञ्चार्ज सुमनसिंह सी ले विज्ञप्ति निकालेर चुनाव एमाले उम्मेदवारलाई मत हाल्ने निर्णय भएको स्पष्ट पारे ।

सुमनसिंहले निकालेको विज्ञप्तिमा देश यतिबेला साम्राज्यवादी शक्तिहरुको गम्भीर षड्यन्त्र र संकटको चपेटामा परेको उल्लेख छ। उनले जनताको जीवन कष्टकर रहेको र स्वाधिनता माथि डरलाग्दो प्रहार भइरहेको दाबी समेत गरेका छन् ।

‘देशलाई आजको संकटबाट निकास चाहिएको छ, दलाल पुँजीवादको बुई चढेर नेपाल प्रवेश गरेको आजको विश्व साम्राज्यवाद विभिन्न प्रकारका अस्थिरता, अराजकता, द्वन्द सिर्जना गर्दै आजको विश्व भुराजनीतिक ध्रुवीकरणमा मुलुकलाई प्रयोग गर्ने दिशामा अगाडि बढेको छ’ उनले भनेका छन्, ‘ जनताको बीचमा निराशा र भ्रमको खेती गर्ने, नयाँ आवरणमा भिन्नभिन्न प्रवृतिलाई जनताको बीचमा स्थापित गर्ने प्रयत्न भइरहेको छ।’

सुमनसिंहले निकालेको विज्ञप्तिमा कम्युनिष्ट, समाजवादी र देश भक्तहरुको सपना, समाजवादी जनमतको रक्षा, समाजवादी सत्ता स्थापना गर्ने जिम्मेवारी सबै कम्युनिष्टको काँधमा आएको लेखिएको छ।

पार्टीका महासचिव विप्लव सी र नेकपा एमालेका अधक्ष्य केपी ओली बीच भएको छलफल पछि सुहाङलाई सहयोग गर्ने सहमति जुटेको सबै कम्युनिष्ट, समाजवादी र देशभक्तहरुले सूर्य चिन्हमा मत र सुहाङलाई विजयी गराउन कार्यकर्तालाई सो पार्टीले निर्देशन दिएको छ ।

विज्ञप्तिमा जनताको समाजवादी सत्ता निर्माण गर्ने चाहाना पूरा गर्ने प्रतिबद्धता समेत व्यक्त गरिएको छ ।

२० जनाको उम्मेद्वारी

इलाम क्षेत्र नं २ मा २० जनाको उम्मेद्वारी परेको छ । शनिबार १२ दलका सहित ८ स्वतन्त्रले उम्मेद्वारी दर्ता गराएका छन् ।

नेकपा एमालेको तर्फबाट सुहाङ नेम्वाङ, नेपाली काँग्रेसका जिल्ला सभापति डम्वर बहादुर खड्का, राष्ट्रिय स्वतन्त्र पार्टीबाट मिलन लिम्वुु, नेकपा एसबाट जितबहादुुर राई, जनमत पार्टी प्रेमदिप लिम्बु, नेमकिपाबाट श्यामबहादुर दर्जी, मंगोल नेशनल अर्गनाइजेशनबाट मणि बहादुर लिम्वु, राष्ट्रिय प्रजातन्त्र पार्टीका लक्ष्मी गुरुङले मनोयन दर्ता गराएका छन् ।

त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका गणेश बहादुर चौहान, राष्ट्रिय मुक्ति आन्दोलन नेपालका जयवन्त विक्रम शाह, नेशनल रिपव्लिक नेपालका धर्मराज राना मगर, नेपाली जनता दलका रेशम बहादुर सुनुवारले मनोनयन दर्ता गराएका छन् ।

यस्तै डकेन्द्र सिंह थेगिम, डाकप्रसाद गौतम, अर्जुन विक्रम शाही, मनोज निरौला, केशव कुमार चापागाई, दिपक वोहोरा, योगेन्द्र गुरुङ र राज बस्यालले स्वतन्त्र उम्मेद्वारी दिएका छन् ।

यस क्षेत्रबाट निर्वाचित एमाले सांसद सुवासचन्द्र नेम्वाङको गत भदौ २६ गते निधन भएपछि उपनिर्वाचन हुन लागेको हो ।