बुधबार, कार्तिक २५ २०८३

बुधबार, कार्तिक २५ २०८३

वाइडबडी विमान खरिदमा भ्रष्टाचार भएको अख्तियारकाे निष्कर्ष, कांग्रेस नेता शाहीसहित प्रतिवादी बन्ने निश्चित

बिहिबार, चैत्र २२ २०८०

काठमाडौं । अहिलेसम्मकै सबैभन्दा ठूलो भ्रष्टाचार भनिएकाे वाइडबडी विमान खरिद प्रकरणको फाइल दर्ता हुने भएको छ । नेपाल एयरलाइन्सले खरिद गरेका वाइडबडी जहाजबारे सुरूदेखि नै विवाद उठेकाे थियाे ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुईवटा वाइडबडी विमान खरिदमा भ्रष्टाचार भएको निष्कर्ष निकाल्दै संलग्नहरुमाथि भ्रष्टाचार मुद्दा दायर गर्ने तयारी थालेकाे छ ।

अख्तियार स्रोतका अनुसार तत्कालीन पर्यटनमन्त्री जीवनबहादुर शाही र जितेन्द्र देव नेपाल वायुसेवा निगमका महाप्रबन्धक सुगतरत्न कंसाकार लगायतहरु भ्रष्टाचारमा संलग्न रहेको निष्कर्षसहित उनीहरुलाई प्रतिवादी बनाउने तयारी छ ।

निगमले झण्डै २५ अर्ब रकममा २ वटा बाइडबडी विमान खरिद गरेको थियो । यो प्रकरणमा मुख्यगरी निगमका महाप्रवन्धक कंसाकारको योजना अनुसार कम्पनी छनोट गरी विमान खरिद गरिएको हो । विमान खरिद गर्नुअघि प्राविधकसहित ११ जनाको समिति विशेष समिति गठन गरिएको थियो । जसमा निगमका डाइरेक्टर र क्याप्टेन सम्मिलित रहेका थिए ।

अख्तियार स्रोतका अनुसार सम्भवतः आज र भोलिमा विशेष अदालतमा मुद्दा दर्ता हुनेछ । अख्तियारले आरोपितहरुको नाम, विगो रकम र अरु विवरण गोप्य राखेको छ ।

तत्कालीन पर्यटनमन्त्री शाही संघीयता कार्यान्वयनपछि दुई पटक कर्णाली प्रदेशसभा सदस्य बनेका थिए । अघिल्लो पटक मुख्यमन्त्री नियुक्त भएका उनी नेपाली कांग्रेसका केन्द्रीय सदस्य हुन् ।

पूर्वमन्त्री शाहीको पालामा विमान खरिद प्रक्रियाको थालनी तथा बैना पठाइएको थियो ।

मन्त्री, पूर्वमन्त्रीहरु, सचिव, महाप्रबन्धक लगायत विमान खरिद गर्न गठित निगमका समिति र उपसमितिमा रहेका झण्डै दुई दर्जन पदाधिकारीहरुको संलग्नता देखिन्छ र उनीहरु सबैलाई कारवाहीको दायरमा ल्याउने तयारी रहेको अख्तियार स्रोतले बतायो ।