काठमाडौं । भारत भ्रमणमा रहेको नेपालले एसएमएस फ्रेन्डसिप कपअन्तर्गत तेस्रो खेलमा आज गुजरातसँग खेल्दैछ । खेल दिउँसो २:४५ बजे सुरु हुनेछ ।
लगातार दुई खेलमा विजयी नेपालले बुधबार तेस्रो खेल खेल्न लागेको हो । पहिलो खेलमा आइतबार गुजरातमाथि ८ विकेटको शानदार जित निकालेको नेपालले मंगलबार बरोडामाथि २७ रनको जित दर्ता गरेको थियो ।
आजको खेल गुजरातको वापीस्थित साई मेघपन स्पोर्ट्स लाइफ मैदानमा हुने छ । नेपाल विश्वकपको तयारी स्वरुप गुजरात र बरोडासँग सिरिज खेल्न भारत गएको हो। नेपालले प्रतिस्पर्धा गर्ने भारतका दुवै टोली राज्य स्तरका हुन् ।
नेपालले अर्को खेल चैत २३ गते बरोडामा खेल्नेछ। लिग चरणमा एक अर्कासँग दुईदुई खेल खेलेपछि शीर्ष दुई टोलीबिच फाइनल प्रतिस्पर्धा हुनेछ।
नेपालको भारत भ्रमणलाई आगामी जुन १ तारिखदेखि अमेरिका र वेस्ट इन्डिजमा आयोजना हुने टी-२० विश्वकपको तयारीका रुपमा लिइएको छ। विश्वकपमा नेपाल समूह ‘डी’मा छ। नेपाल रहेको समूहमा दक्षिण अफ्रिका, श्रीलङ्का, बङ्गलादेश र नेदरल्यान्ड्स छन्।