बुधबार, कार्तिक २५ २०८३

बुधबार, कार्तिक २५ २०८३

संवैधानिक परिषद्को बैठक बस्दै

आइतबार, चैत्र १८ २०८०

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज बिहान ९ बजे बस्ने गरी बोलाएको परिषद्को बैठक बस्दै छ ।

संवैधानिक निकायका पदाधिकारी नियुक्तिको सिफारिस परिषद्ले गर्न संवैधानिक व्यवस्था छ । सोहीअनुसार संवैधानिक निकायका पदाधिकारी नियुक्तिको सिफारिसका लागि प्रधानमन्त्रीले बैठक बोलाएका हुन् ।

यसअघि १२ चैतमा बैठक बोलाइएको थियो । तर, उक्त बैठक बस्न नसकेपछि आज बैठक बोलाइएको हो ।

बैठकले रिक्त महालेखापरीक्षक, निर्वाचन आयोग, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगमा रिक्त पदाधिकारी सिफारिस गर्ने तयारी छ ।

प्रधानमन्त्री प्रचण्डले संवैधानिक निकायमा नियुक्तिका लागि यसअघि शीर्ष नेताहरूसँग सहमतिको प्रयास गरेका थिए । उनले सत्ता सहयात्री एमाले अध्यक्ष केपी शर्मा ओली तथा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग छलफल गरेका थिए ।

संवैधानिक परिषदको अध्यक्ष प्रधानमन्त्री हुने व्यवस्था छ । सदस्यहरूमा प्रधानन्यायाधीश, प्रतिनिधिसभाको सभामुख, राष्ट्रियसभाको अध्यक्ष, प्रतिनिधिसभाको प्रमुख प्रतिपक्षी दलको नेता, उपसभामुख रहनेछन् ।