काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग छलफल गरेका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटमा सङ्क्रमणकालीन न्याय, सङ्घीय संसद्लाई सहजरुपमा सञ्चालन गर्नेलगायतका विषयमा छलफल भएको प्रधानमन्त्रीका प्रेस विज्ञ मनोहरि तिमिल्सिनाले जानकारी दिए ।
२१ फागुनमा सत्ता समीकरण बदलिएपछि पहिलोपटक प्रचण्ड र देउवाबीच भेटवार्ता भएको हो ।
संसद्लाई प्रभावकारी बनाउने र राष्ट्रिय समस्या समाधानका लागि प्रमुख प्रतिपक्षी दलसँग प्रधानमन्त्रीले नियमित छलफल गरिरेका छन् ।
पछिल्लो समय प्रतिपक्ष कांग्रेसले सहकारी प्रकरणमा मुछिएका रास्वपा सभापति एवं उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले पदबाट राजीनामा दिनुपर्ने माग अघि सारेको छ ।
कांग्रेसले प्रतिनिधि सभाको पछिल्ला बैठक अवरुद्ध समेत गरेको थियो । सोही सेरोफेरोमा प्रधानमन्त्री प्रचण्डले कांग्रेस सभापति देउवासँग छलफल गरेका छन् ।