काठमाडौं । नेकपा माओवादी केन्द्रले वैशाख १५ गते हुने उपनिर्वाचनमा कुनै दलसँग गठबन्धन नगर्ने भएको छ ।
आज बिहान बसेको माओवादीको पदाधिकारी बैठकले इलाम २ मा हुने प्रतिनिधिसभा र बझाङ (१) मा हुने प्रदेशसभाको उपनिर्वाचनमा आफै उम्मेदवारी दिने निर्णय गरेको हो।
आजको बैठकमा छलफलपछि सर्वसम्मत रुपमा पार्टीबाट आफ्नै उम्मेदवार उठाउने निर्णय गरेको केन्द्रीय कार्यालयका मुख्यसचिव श्रीराम ढकालले बताए ।
इलाम २ बाट केन्द्रीय सदस्य धीरेन्द्र शर्मा रमण, प्रदेश सचिवालय सदस्य उर्मिला तामाङ, प्रदेश सदस्य ओम गुरुङ र अनिल बराइलीको नाम सिफारिस भएर आएको छ ।
इलाममा एमालेबाट सुहाङ नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय यसअघि नै गरिसकेको छ । रास्वपाबाट मिलन लिम्बूको चर्चा छ । कांग्रेसले भने गत निर्वाचनमा एमालेका सुवास नेम्वाङसँग पराजित भएका डम्बर खड्कालाई उम्मेदवार बनाउने तयारी गरेको छ ।
एमालेका तत्कालीन उपाध्यक्ष एवं संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको गत भदौ २६ मा निधनपछि यो क्षेत्र खाली थियो ।
एमालेले बझाङ प्रदेशसभामा दमन भण्डारीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
यत सत्ता गठबन्धनको अर्को दल नेकपा एकीकृत समाजवादीले उपनिर्वाचनको लागि उम्मेदवार टुंग्याएको छ ।
इलाम २ मा जीतबहादुर राई र बझाङको प्रदेशसभातर्फ दिलबहादुर सिंहलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।