उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका– १४ साउनेका तीन बालबालिका सुनकोशी नदीमा बेपत्ता भएका छन् । उनीहरु नुहाउन नदीमा जाँदा आइतबार दिउँसो वेपत्ता भएका हुन् ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार बेपत्ता हुनेमा त्रियुगा –१४ साउनेका ११ वर्षीया बालिका रेखा मगर, सोही स्थानका बालकद्वय ८ वर्षीय लोकबहादुर मगर र ७ वर्षीय रिदम मगर छन् ।
त्रियुगा –१४ का वडाअध्यक्ष हेमराज मगरका अनुसार उनीहरु हिजो दिउँसो होली खेलेर सुनकोशी नदीमा नुहाउनेक्रममा बेपत्ता भएका हुन् ।
पाँचजना बालबालिका सुनकोशीमा पौडी खेल्न प्रवेश गरे पनि दुईजना चाहिँ निक्लन सफल भएका थिए ।
बेपत्ता बालबालिकाको खोजीका लागि आज सशस्त्र प्रहरी बलको गोताखोर परिचालन गरिएको छ ।
सशस्त्र प्रहरी निरीक्षक उमेश काफ्लेको कमान्डमा ९ जना गोताखोरसहितको फौज परिचालन गरी खोजी कार्य सुरु गरिएको सह(प्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए ।