बुधबार, कार्तिक २५ २०८३

बुधबार, कार्तिक २५ २०८३

इलाम २ उपनिर्वाचन

अध्यक्ष ओलीले भने : ‘पेशाले लयर सुहाङलाई भेट्दा सरल र नयाँ जोश भएका युवाको रुपमा पाएको छु’

सोमबार, चैत्र १२ २०८०

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले इलाम २ को उपनिर्वाचनमा प्रतिनिधिसभा सदस्य पदको उम्मेदवार रहेका सुहाङ नेम्वाङलाई शुभकामना दिएका छन् ।

आइतबार बसेको एमाले सचिवालय बैठकले दिवङ्गत नेता सुवासचन्द्र नेम्वाङका कान्छा छोरा सुहाङलाई उम्मेदवार बनाउने निर्णय गरेको थियो ।

त्यसको केही समय पछि अध्यक्ष ओलीले सामाजिक सञ्जाल फेसबुकमा सुहाङसहितको तस्वीर शेयर गर्दै भनेका छन्, ‘ युवा सँगसँगै ! ३२ वर्षीय सुहाङ नेम्वाङ इलाम– २ को उपनिर्वाचनमा उम्मेदवार बनेका छन् । फूटबल र क्रिकेटमा रुचि भएका, पेशाले लयर सुहाङलाई भेट्दा सरल र नयाँ जोश भएका युवाको रुपमा पाएको छु । आम युवामा जस्तै उनमा पनि केही गर्ने हुटहुटी र ऊर्जा छ । शुभकामना छ सुहाङ !’

नेता सुवासचन्द्र नेम्वाङको गत भदौ २६ गते निधन भएको थियो । सुहाङ दिवंगत नेता सुवासचन्द्रका कान्छा छोरा हुन् ।

इलाम क्षेत्र २ को उपनिर्वाचनका लागि उम्मेदवारी मनोनयन दर्ता चैत २४ लाई तोकिएकोे छ।

निर्वाचन आयोगले निर्धारण गरेको कार्यतालिकाअनुसार उम्मेदवारको अन्तिम नामावली प्रकाशन र उम्मेदवारलाई चुनाव चिह्न वितरणको कार्यक्रम चैत २७ गतेलाई राखिएको छ।

आयोगका अनुसार चैत २२ गते मतदाताको अन्तिम नामावली प्रकाशन हुने छ भने फागुन २४ देखि ३० सम्मको म्याद दिई राजनीतिक दल दर्ताको सूचना प्रकाशन गरिएकाे थियाे ।

चैत २८ देखि वैशाख १२ प्रचारको अवधि राखिएको छ भने वैशाख १५ गते  बिहान ७ देखि साँझ ५ बजेसम्मलाई मतदान समय तोकिएको छ।